काठमाडौं । शुक्रबार र शनिबारको लगातारको भारी वर्षापछि देशभर ३२ वटा राजमार्गका ६८ ठाउँमा सडक अवरुद्ध भएका छन् । केही स्थानमा आंशिक रूपमा सडक खुलाइए पनि अधिकांश क्षेत्रमा अझै सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ । सडक विभागका अनुसार कतिपय ठाउँमा सडक भासिएर बगेको छ भने केही स्थानमा पुलहरू पनि बाढीले बगाएका छन् । काठमाडौं उपत्यकाभित्र कीर्तिपुर, स्वयम्भू, नागढुंगा, फर्पिङ, साँखु, बलम्बु, थानकोट, बालाजु लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको थियो ।
यी क्षेत्रमध्ये केही स्थानमा सडक सञ्चालनमा आइसकेको छ भने बाँकी ठाउँमा खुलाउने प्रयास भइरहेको छ । राजधानी काठमाडौंसँग जोडिएका प्रमुख राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएका कारण काठमाडौंबाट सवारीसाधन बाहिरिन सकेका छैनन्, भने भित्रिने सवारी साधन पनि बाटोमै रोकिएका छन् ।
मुग्लिन–काठमाडौं, सिन्धुली–काठमाडौं, सिन्धुपाल्चोक–काठमाडौं, हेटौँडा–काठमाडौं, दक्षिणकाली–सिस्नेरी, बल्खु–फर्पिङ जस्ता मार्गहरूको सम्पर्क विच्छेद भएको छ, र केही स्थानमा आंशिक रूपमा सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । बाढीले हेवाखोलाको पुल, खुर्कोट–रामेछाप जोड्ने पुल र अरनिको राजमार्गको लार्चा बेलिब्रिज बगाउँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, मुग्लिन–पोखरा, नारायणगढ–मुग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे–सिन्धुली खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड, पुष्पलाल राजमार्गको सिन्धुली, खोटाङ र ओखलढुङ्गा खण्डमा पनि सवारी आवागमन ठप्प भएको छ । कीर्तिपुर नगरपालिका वडा नं. १० स्थित त्रिवि सेवा आयोगअगाडिको सडक पूर्ण रूपमा बन्द छ भने गोदावरी नगरपालिका–६ को लेले र टिकाभैरव जाने बाटो पनि अवरुद्ध छन् ।
हलेसी–तुवाचुङ–बर्खेटार, दिप्रुङ–चुचुम्मा, राँके–भेडेटार, दिक्तेल–गाईघाट, माइखोला–कटारी–चनौटे, बकैया–घट्टेपाखा, सुकौरा–भिमफेदी–कुलेखानी–फाखेल, आँपचौर–लाम्राङ लगायतका क्षेत्रहरूमा पनि सडक बन्द रहेका छन् । त्यसैगरी, वेनिघाट रोराङ, तिङराङखानी, गल्छी चिरौदी सडकहरू पनि पूर्णरूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।






