काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली रहने बताएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यस्तै आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




