काठमाडौं । दुई तीन दिन कम भएको वर्षा आज (बुधबार) देखि फेरि बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोसी प्रदेशका एक दुई स्थानमा भारी वर्षा भएको छ । महाशाखाका एक अधिकारीका अनुसार पछिल्लो ३ घण्टामा मोरङ र सुनसरी आसपासका क्षेत्रमा एक दुई स्थानमा भारी वर्षा भएको छ ।
भारतको उत्तरपूर्वी आसाम र आसपास क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा पुन: वर्षा हुने क्रम बढेको हो । उक्त प्रणाली बिस्तारै उत्तर-पश्चिमतर्फ सर्दै गएको हुँदा आज र भोलि भारी वर्षाको सम्भावना छ, जबकि पर्सिदेखि मौसम क्रमिक रूपमा सुधार हुने अपेक्षा गरिएको छ ।
यस पटक असोज ११ र १२ गतेजस्तो लगातार र भीषण वर्षा हुने सम्भावना भने छैन । पानी पर्नु र रोकिनु बीचमा हुने क्रम रहनेछ, त्यसैले आत्तिनुपर्ने अवस्था छैन । यस पटकको वर्षा देशव्यापी नहुने अनुमान गरिएको छ । विशेष गरी कोसी, बागमती र गण्डकी प्रदेशमा बढी पानी पर्ने सम्भावना छ, जबकि अरू क्षेत्रमा त्यति धेरै प्रभाव पर्ने छैन ।
अघिल्लो हप्ताको अविरल वर्षाले काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति पुगेको भए पनि यसपटक उपत्यकामा भारी वर्षाको सम्भावना कम छ । उपत्यकामा हल्कादेखि मध्यम वर्षासम्म हुने अनुमान गरिएको छ ।




