काठमाडौं । बाढी र पहिरोले ठूलो क्षति पुर्याएको विपी राजमार्ग दशैंअघि सञ्चालनमा आउने सम्भावना न्यून रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले लगातार प्रयास गरिरहेको भएपनि क्षतिको परिमाण ठूलो भएकाले डाइभर्सनमार्फत ट्रयाक खोल्न अझै धेरै समय लाग्ने बताएको छ ।
यस सूचनाले दशैंमा विपी राजमार्ग हुँदै पूर्व जाने योजना बनाएका यात्रुहरूलाई थप सास्ती दिएको छ । त्यसमाथि पृथ्वी राजमार्गमा पनि समस्या देखिएकाले घर फर्किने यात्रुहरू झनै समस्यामा पर्ने भएका छन् ।
यद्यपि, सरकारले चाहेमा विपी राजमार्ग आसपासका ग्रामिण सडकहरू मार्फत पूर्वतिर जाने वैकल्पिक मार्गहरू व्यवस्था गर्न सक्ने देखिन्छ । पहिलो विकल्पका रूपमा धुलिखेल-भुकुण्डेबेशी, तेमाल, मेच्छे हुँदै नेपालथोकको सडकलाई प्रयोग गर्न सकिन्छ ।
भुकुण्डेसम्मको सडक सञ्चालनमा छ र तेमालको बाटो हुँदै विपी राजमार्गमा पुन: जोड्न सकिन्छ । यद्यपि, यो बाटो पनि पहिरोबाट प्रभावित भएकोले बिहिबार ट्रयाक मात्र खुलाइएको छ ।
दोस्रो विकल्प अरनिको राजमार्ग हो, जसले दोलालघाट, चरिकोट, मन्थली हुँदै मुलकोट नजिकै विपी राजमार्गलाई जोड्छ । तेस्रो विकल्प हेटौंडा हुँदै जाने बाटो हो, तर यो पनि बाढी र पहिरोका कारण क्षतिग्रस्त भएकाले मर्मतको आवश्यकता रहेको छ ।




