काठमाडौं । बाढी पहिरोका कारण नौ दिनदेखि अवरुद्ध रहेको कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक आइतबार दिउँसो १२:३० बजेबाट पुन: सञ्चालनमा आएको छ । दक्षिणकालीबाट सिस्नेरीसम्मको भाग शुक्रबार नै खोलिएको थियो भने सिस्नेरीदेखि कुलेखानी (सिमखोला) सम्मको सडक अब पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
बाढीले क्षतिग्रस्त सडकमा डाइभर्सन तयार भएपछि हेटौँडा–भीमफेदी, कुलेखानी, फाखेल, फर्पिङ र हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक मार्ग सञ्चालनमा आउने जानकारी वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करराज पोखरेलले दिएका छन् ।
पोखरेलका अनुसार हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मोटरबाटो कुलेखानी, फाखेल, फर्पिङ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग आइतबार साँझ ५ बजेसम्म पूर्ण रूपमा खुल्ने अपेक्षा गरिएको छ । उनले भने, “कुलेखानी ड्याममुनि रहेको डाइभर्सनको काम पूरा भएपछि फाखेल र सिस्नेरी दुवैतर्फको सडक पनि सञ्चालनमा आउनेछ ।”
दसैंको चापका कारण सवारी साधनहरूको भीड बढ्न सक्ने भन्दै एकतर्फी सञ्चालनको योजना प्रदेश यातायात मन्त्रालयले तयार गरेको छ । “बाढी पहिरोका कारण कतिपय स्थानमा एकतर्फी मात्र सवारी चलाउन सकिने भएकाले वान वे प्रणाली लागू गर्ने तयारीमा छौं,” मन्त्रालयका एक अधिकारीले बताए ।
विगतमा बाढीपहिरोले हेटौँडा–काठमाडौं जोड्ने छोटो वैकल्पिक मार्ग र कान्ति लोकपथलाई क्षति पुर्याएको हुँदा सवारी साधनहरूले त्रिभुवन राजपथ हुँदै चित्लाङ–चन्द्रागिरी मार्गको प्रयोग गरिरहेका थिए, जसले गर्दा त्यहाँ सवारी साधनको चाप बढेको थियो ।
अब वैकल्पिक मार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथको चाप कम हुने आशा गरिएको छ । सिमखोलामा डाइभर्सनको काम सम्पन्न हुने बित्तिकै दुबैतर्फ सवारी साधनहरूको लामो प्रतीक्षा अन्त्य हुने बताइएको छ ।




