- गाैरी मल्ल
याद त आउँछ, के गरुँ ?
यो दुरी अनि यो मजबुरी
सुकेका हाँगा सरि,
लत्रिएर छरिएका पातहरु झै
याद त आउँछ, के गरुँ ?
त्यो जुनेली शितल रात
अनि हातको स्पर्श,
चाँदनीमा खाएका कसम
अनि ति कोमल नजरहरु,
याद त आउँछ, के गरुँ
त्यो साँझको चिया
अनि मौन सम्बाद
नुहाएर भिजेका केश,
अनि अलपत्र रुमाल
याद त आउँछ, के गरुँ ?
त्यो भान्सामा तिम्रो
अनावश्यक प्रवेश
पाखुरामा लागेका
मेरा डाडुपन्युका डामहरू
याद त आउँछ, के गरुँ ?
त्यो ड्रेसिङ्ग टेबलमा
सजिएका सामान,
जिस्किन्दा छरपस्ट
सिन्दुरका छिटाहरू
याद त आउँछ, के गरूँ ?
२. चिताको वासनाले त्यो
म प्रमुदित…
जिर्ण जिर्ण बाँचिरहेछु !
बैराग्य जो थियो ,
सब छंदैछ कालान्तर…
अनि मेरा अबशानका दिन गन्दै जब ,
आउंछ काल नजिक…
म उत्सुक ,
अधीर त्यो दिनको !
अल्पविराम संगै,
निस्कने सुस्केरा…
क्षण भंगुर
परागत सासको,
कृपापात्र म !
मात्र जिउने प्रमादमा,
प्रपंची स्वासनलीले
रचेको प्रपन्च नबुझी
पोथ्रो सरि घिस्रिन्दै,
निस्पन्द निस्तेज
र पनि
भ्रमको नालीमा खेत जोति,
नग्ना चरमसीमा धातुराग गाइ
अन्धाको हुलमा द्रष्टा बनि,
यो भ्रममा
अकाट्य सत्यलाई पाखा लगाई,
स्वयम्
निहीत पार्थिव बोकिरहेछु
अस्तु !
(गाैरी मल्लकाे फेसबुकबाट साभार)






