काठमाडौं । काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको बीपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ । यही असोजको १०, ११ र १२ गतेको बाढी पहिरोले वीपी राजमार्गको १२ किलोमिटर भन्दा धेरै भाग बगाएको थियो ।
तर रातदिन र चाडपर्व नभनी काम भइरहेकाले भोलिदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए ।
आज फूलपातीको दिन पनि बिहानैदेखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएका छन् । आज रातभरी र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाउने उनको भनाइ छ ।
देशका अरु ठाउँमा सडक खुलाएपछि सबैजसो मेसिन र जनशक्ति बीपी राजमार्ग खुलाउन परिचालन गरिएको सचिव शर्माले बताए । केही मेसिन भाडामा पनि लिइएको उनको भनाइ छ ।
धेरैजसो ठाउँमा खोला फर्काएर र बगरमा सडक बनाइएको छ । पूर्वी नेपालसँग जोड्न बीपी राजमार्ग निकै महत्त्वपूर्ण भएकाले यो सडक खुलाउन डेडिकेटेड टिम नै खटाइएको सचिव शर्माले जानकारी दिए ।
आफू पनि आजसम्म तीन पटक यो सडकको अनुगमनमा गएको शर्माले बताए । काठमाडौं र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध भएपछि दशैंमा आउजाउ गर्ने यात्रुले धेरै दु:ख पाएका छन् ।
अब भोलिदेखि नै सडक खुल्ने भएकाले टीका लगाउन जान सजिलो हुने र टीकापछि पूर्वी नेपालबाट साना गाडी बीपी राजमार्ग हुँदै काठमाडौं आउजाउ गर्न सक्ने सचिव शर्माले जानकारी दिए ।




