काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको पछिल्लो सूचनाअनुसार काभ्रेको रोशी गाउँपालिकास्थित भ्याकुर खोला पुल पूर्ण रूपमा अवरुद्ध छ । बीपी राजमार्गमा रहेको यो पुल केही समयअघि आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त भएको हो ।
केन्द्रीय प्रहरी कार्यालयले शुक्रबार दिउँसो जारी गरेको सूचनामा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ मा रहेको लिपिङ पुल पनि पूर्ण रूपमा अवरुद्ध भएको उल्लेख छ ।
यस्तै, रामेछाप जिल्लाको मन्थली नगरपालिका ६ को सुनकोशी पुल र खाँडा देवी गाउँपालिका १ स्थित खाँडाचक्र पुल पनि पूर्ण रूपमा अवरुद्ध छन् । प्रहरीले शुक्रबार बिहान १० बजेसम्मको जानकारीमा केही सडक एकतर्फी रूपमा सञ्चालनमा आएको उल्लेख छ ।
काभ्रेको रोशी गाउँपालिका ८ चार सयवेशीमा बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ भने रोशी गाउँपालिका ११ कालढुंगा र रोशी गाउँपालिका ७ घुमाउनेमा पनि यातायात एकतर्फी रूपमा खुलेको छ ।
त्यसैगरी, काभ्रेको पाँचखाल नगरपालिका ५ हनुमानगढ केराघारी र अरनिको राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ ।





