झापा । अर्जुनधारामा एक व्यक्तिले आफ्नै श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । सोमबार दिउँसो ३:५० बजे अर्जुनधारा नगरपालिका वडा नं. ३ निवासी भरत कुमालको आँगनमा, जुंगेघारीका ४६ वर्षीय बिरबहादुर चौहानले आफ्नी श्रीमती ३७ वर्षीया मुना भुजेल चौहानको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घटनास्थलमै मुनाको मृत्यु भएको थियो ।
हत्या गरेपछि फरार भएका बिरबहादुरलाई प्रहरीले दिउँसो ४:५५ बजे जुकेखाडी सामुदायिक वनको देवीथान होल भन्ने स्थानमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
घटनाको प्रारम्भिक अनुसन्धानमा, श्रीमान्-श्रीमती दुबै जनाले मादक पदार्थ सेवन गरेको र घरायसी विवादकै कारण बिरबहादुरले मुनाको हत्या गरेको खुल्न आएको छ । मुनाले पहिलाका श्रीमानलाई छोडेर बिरबहादुरसँग विवाह गरेकी थिइन् । उनीहरूका एक छोरा र एक छोरी रहेका छन् । बिरबहादुरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




