डडेल्धुरा । डडेल्धुरामा रात्रिबस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार, घटनास्थलमै दुई महिला, एक पुरुष र एक शिशुको मृत्यु भएको हो ।
बैतडीको पुर्चौंडी नगरपालिका ३ की ४५ वर्षीया जयमती बोहरा, २६ वर्षीया कमला बोहरा, उनको दुई दिनको शिशु र २२ वर्षीय सहदेव बोहराको ज्यान गएको हो ।
महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका ७ खस्रेखानमा दुर्घटना भएको थियो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
चालक निदाएका कारण बस पल्टिएको हुन सक्ने अनुमान छ । गम्भीर घाइते बसचालक २४ वर्षीय वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरूमा पदमबहादुर बोहरा, नवराज रतौकी, सुरेन्द्र रतौकी, दामोदर महरा, धनबहादुर महरा, नवराज साउँद, राजेन्द्र साउँद, दिनेश साउँद, मुकुन्द बोहरा, विमला महता र धनमती साउँद रहेका छन् ।




