काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा १ लाख ६२ हजार ३९४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जसमा म्यानपावरमार्फत नयाँ कामको खोजीमा विदेश जानेको संख्या ८७ हजार ७६३ रहेको छ ।
गत वर्षको साउनदेखि असोजसम्ममा २ लाख २ हजार १४८ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका थिए । यस वर्ष भने नेपाल फर्केर पुनः वैदेशिक रोजगारीमा जानेहरूको संख्या ४९ हजार २९७ रहेको छ ।
चालू वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूमध्ये २१ हजार २४९ जना महिला छन् । असोज महिनामा ५३ हजार ५२५ नेपाली विदेश गएका छन्, जसमा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ महिला छन् ।
यस अवधिमा धेरै नेपाली खाडी मुलुकतिर गएका छन्, जसमा १७ हजार युएई, १० हजार साउदी अरब, ९ हजार ७०० कतार र ३ हजार ८०० कुवेत पुगेका छन् ।




