काठमाडौं । तराईका अधिकांश विमानस्थलमा बाक्लो हुस्सुका कारण उडान प्रभावित भएको छ । विराटनगर विमानस्थल सोमबार भरि बन्द रहेको छ भने जनकपुर विमानस्थल ढिलो खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार हुस्सुका कारण भिजिबिलिटी कम भएपछि तराई क्षेत्रका धेरै विमानस्थलमा उडान स्थगित गर्नु परेको छ । भद्रपुर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल पनि अपराह्नतिर मात्र सञ्चालनमा आएका हुन् ।
विराटनगर विमानस्थलमा भने मौसम प्रतिकूल रहेकाले सोमबार कुनै पनि उडान हुन सकेन । “बाक्लो हुस्सुले भिजिबिलिटी कम भएपछि उडान तालिका प्रभावित भएको हो,” प्रवक्ता शेर्पाले बताए । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको प्रभाव छ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएपनि अन्य स्थानको मौसम सफा रहेको विभागले जनाएको छ ।




