काठमाडौं । समाजमा दिनहुँ घटिरहेका घटनाहरूले हाम्रो नैतिकता, मानवता र पारिवारिक सम्बन्ध प्रतिको विश्वासलाई हल्लाइरहेको छ । पछिल्ला केही दिनयता आएका दुःखद समाचारले हाम्रो समाजलाई गम्भीर आत्मनिरीक्षण गर्न बाध्य पारेको छ । नातिले आफ्नै हजुरबुवाको हत्या र आमाले आफ्नै छोराछोरीको हत्या गरेको घटनाले हाम्रो समाजको नैतिक धरातलमा गहिरो प्रश्न उठाएको छ । यी घटनाले केवल अपराधको सीमा पार गरेको छैन, यो समाजको मानसिक, भावनात्मक र नैतिक पतनको प्रतिविम्ब हो ।
सम्बन्ध भनेका विश्वास, माया र सम्मानको आधारमा टेकेका हुन्छन् । नाति र हजुरबुवाको सम्बन्ध होस् या आमा र छोराछोरीको नाता, यी सम्बन्धले प्रेम र स्नेहको गहिरो भावनालाई प्रतिनिधित्व गर्छन् । तर, जब यी सम्बन्धहरू हत्या र हिंसाको केन्द्र बिन्दु बन्छन्, तब समाजको आधारभूत संरचनामा ठूलो ह्रास आएको स्पष्ट हुन्छ ।
यी घटनाका जरा गहिरा छन् । समाजमा बढ्दो मानसिक तनाव, बेरोजगारी, आर्थिक संकट र आधुनिक जीवनशैलीले मानिसलाई भावनात्मक रूपमा कमजोर बनाइरहेको छ । मानसिक स्वास्थ्य प्रति बेवास्ता, सामाजिक दबाब र सम्बन्धहरूमा संवादको अभावले हिंसा र द्वन्द्वलाई बढावा दिएको छ ।
समाजले यस प्रकारका घटनालाई सामान्य रूपमा लिने होइन । मानसिक स्वास्थ्यमा लगानी गर्दै मानिसहरूलाई भावनात्मक सहयोग पुर्याउन पहल गर्नुपर्छ । परिवारभित्रका सम्बन्ध सुधार्न, सहिष्णुता र संवादको वातावरण सिर्जना गर्नुपर्छ । शिक्षामा नैतिकता र जीवन कौशल समावेश गरेर मानिसहरूलाई सामाजिक र पारिवारिक जिम्मेवारी बारे सचेत बनाउनुपर्छ ।
यी घटनाहरू केवल तथ्यांकका लागि मात्र होइनन्, यी हाम्रो समाजको गहिरो समस्या र भावनात्मक विघटनको प्रतीक हुन् । पारिवारिक सम्बन्धलाई बलियो बनाउन र मानवताका आधारभूत मूल्यहरूलाई जोगाउन सबैले सामूहिक प्रयास गर्नुपर्छ । समयमै चेतना लिएनौं भने समाज अझै हिंसात्मक र अस्थिर बन्ने खतरा छ । यो समस्या केवल वर्तमानको होइन, यो हाम्रो भविष्यको हो ।




