नवलपुर । बिहान घाम उकालो लागिसकेको भएपनि बाक्लो हुस्सुले बाहिरी दृश्य धुम्म देखिन्छ । यति बाक्लो हुस्सु लागेको छ कि १० मिटर टाढाको वस्तु समेत देख्न कठिन भएको छ । यसले विशेष गरी बिहान सवारी साधन चलाउनेहरूलाई ठूलो समस्या पैदा गरेको छ ।
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा सवारी साधन पातलो मात्रामा गुडिरहेका छन्, तर ती पनि सुस्त गतिमा । भिजिविलिटी अत्यन्त कम भएकाले सवारी साधन चलाउन मुस्किल भइरहेको चालकहरूले बताएका छन् ।
सावधानी पूर्वक सवारी साधन चलाइएकाले सामान्य बाहेक ठूला दुर्घटनाहरू भने नभएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पुसदेखि नवलपुर लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु लाग्ने र शीतलहर चल्ने क्रम जारी छ ।
शीतलहरका कारण सडक चिप्लो हुँदा नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा केही दिनसम्म सवारी आवागमन प्रभावित भएको थियो । अन्य समय चर्को घाम लाग्ने तराई क्षेत्रमा अहिले दिउँसो पनि मुस्किलले घाम देख्न पाइन्छ ।
तराईका धेरैजसो विद्यालयहरूले चिसोका कारण जाडो बिदा दिएका छन् । वृद्ध वृद्धाहरूलाई विशेष समस्या परिरहेको छ भने स्थानीय तह र सामाजिक संस्थाहरूले चोकचोकमा आगो बालेर ताप्ने व्यवस्था गरेका छन् ।
जिल्लाका २४ सार्वजनिक स्थलहरूमा आगो ताप्ने व्यवस्था गरिएको छ । साथै, स्थानीय क्लबहरूले दाउरा व्यवस्थापन गरी ताप्ने ठाउँ उपलब्ध गराएका छन् ।
चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालयको पहलमा न्यून आय भएका करिब एक सय परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ । बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएपनि स्थानीय निकाय र प्रशासनले राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरिरहेका छन् ।




