काठमाडौं । सरकारी कार्यालयहरूमा अक्सर देखिने स्टिकरहरूमा लेखिएको हुन्छ- ‘म भ्रष्टाचार गर्दिन । म भ्रष्टाचार हुन दिन्न ।’ तर, प्रश्न उठ्छ- यदि सबैले नैतिकता पालन गरेका भए यस्ता नाराहरू टाँस्नुपर्ने जरुरत नै किन पथ्र्यो ? कम्तिमा सरकारी कार्यालयमा यस्ता स्टिकर देख्न नपरे हुन्थ्यो !
भ्रष्टाचारमुक्त समाजको सपना केवल नारा वा स्टिकरले पूरा हुँदैन । यसको लागि प्रभावकारी नीति, दण्डहीनताको अन्त्य र पारदर्शी प्रशासन आवश्यक छ । इमानदारी प्रमाणित गर्ने साधन स्टीकर होइन, कर्म हो । जब कुनै कार्यालयमा सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्न सक्छन्, कर्मचारीहरू जवाफदेही हुन्छन्, र कुनै लेनदेन बिना नै काम हुन्छ, त्यहाँ यस्ता स्टिकर टाँस्नु पर्ने आवश्यकता पर्दैन ।
नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गरिएको थियो । यो आयोगले विगतमा थुप्रै ठूला भ्रष्टाचार काण्डहरू उजागर गरेको छ, तर अझै पनि नीतिगत भ्रष्टाचार, ठूला घोटाला र सार्वजनिक सेवामा हुने ढिलासुस्तीले आम नागरिकको जीवनलाई प्रभावित पारिरहेको छ ।
सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिताको कमीले नै यस्ता नारा आवश्यक बनाएका हुन् । तर, जब कुनै कार्यालयको इमानदारी नागरिकले महसुस गर्न सक्छन्, तब यस्ता स्टिकरको अर्थ स्वत: समाप्त हुनेछ ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा आशा गरौँ- भ्रष्टाचारविरुद्धको लडाइँ केवल नारा र स्टिकरसम्म सीमित नहोस् । इमानदारी व्यवहारमा उतारौँ, पारदर्शिता प्रवर्द्धन गरौँ र भ्रष्टाचारमुक्त प्रशासन निर्माण गरौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्थापना दिवसको शुभकामना !




