काठमाडौं । नेपाली फिल्म तथा टेलिभिजन क्षेत्रका चर्चित जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको मित्रता र सहकार्य लामो समयदेखि दर्शकको आकर्षणको केन्द्रमा रहँदै आएको छ । अनस्क्रिन र व्यवसायिक रूपमा एकसाथ काम गरिरहेका यी दुईले ‘धनियाँ र रामविलास’, ‘तीतो सत्य’ देखि ‘छक्कापञ्जा’ श्रृंखलासम्म निरन्तर सहकार्य गरिरहेका छन् ।
दीपक र दीपाले एकअर्कालाई असल साथी बताउँदै आएपनि, उनीहरूको केमेस्ट्रीलाई लिएर विभिन्न अड्कलबाजी चलिरहन्छ । हाल दीपक आफ्नो परिवारसँग घुमघामका लागि अस्ट्रेलिया गएका छन् भने दीपाले काठमाडौंमै बसेर नयाँ प्रोजेक्टहरूमा काम गरिरहेकी छन् ।
यसैबीच, प्रणय दिवस (भ्यालेन्टाइन्स डे) को अवसरमा दीपाले आफ्नो इन्स्टाग्राममार्फत दीपकसँगको फोटो सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी छन् । फोटोग्राफर राजीव श्रेष्ठद्वारा खिचिएको पुरानो तस्वीरमा दीपक र दीपा रोमान्टिक मुद्रामा देखिन्छन् । दीपाको यो पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने विभिन्न कलाकार तथा प्रशंसकहरूले कमेन्ट गर्दै उनीहरूलाई शुभकामना दिइरहेका छन् ।






