काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट स्थानीय सरकारको रूपमा डडेल्धुराको अमरगढी नगरपालिका चयन भएको छ ।
विभिन्न १७ वटा सूचकका आधारमा १०० पूर्णाङ्कमा गरिएको मूल्यांकनमा अमरगढीले ८१.७ अंक ल्याउँदै पहिलो स्थान हासिल गरेको हो । नगरपालिकातर्फ र समग्र मूल्यांकनमा अमरगढी नगरपालिकापछि इलामको सूर्योदय नगरपालिकाले ८०.२ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ ।
गाउँपालिकातर्फ कालिगण्डकी र नेत्रावती डवजोङ उत्कृष्ट
गाउँपालिकातर्फ स्याङ्जाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले समान ७८.२ अंक प्राप्त गर्दै उत्कृष्ट भएका छन् । त्यस्तै, स्याङ्जाकै आँधिखोला गाउँपालिका र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले समान ७८ अंक ल्याउँदै चौथो स्थानमा पर्न सफल भएका छन् । स्याङ्जाकै फेदीखोला गाउँपालिकाले ७७.९ अंक प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको छ । आँधिखोला गाउँपालिका ४६० गाउँपालिकामध्ये दोस्रो उत्कृष्ट बनेको छ ।
मधेश प्रदेशका स्थानीय तह कमजोर
वित्त आयोगको मूल्यांकनमा मधेश प्रदेशका स्थानीय तहहरूको कार्यसम्पादन सबैभन्दा कमजोर देखिएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र बाराको सिम्रौनगढ नगरपालिकाले सबैभन्दा कम २९ अंक मात्र प्राप्त गरेका छन् ।
वित्त आयोगले समयमा बजेट प्रस्तुत गर्ने, कार्यान्वयनको समीक्षा गर्ने, राजस्व संकलन, बेरुजू रकम, सामुदायिक विद्यालयका नतिजा, स्वास्थ्य सेवा, खोपका उपलब्धि लगायतका १७ वटा सूचकको आधारमा कार्यसम्पादन मूल्यांकन गरेको हो ।
उत्कृष्ट प्रदर्शन गर्ने स्थानीय तहहरूलाई पुरस्कृत गरिने जनाइएको छ भने कमजोर स्थानीय तहहरूको सुधारका लागि आवश्यक नीति तथा कार्यक्रम अघि बढाइने आयोगले जनाएको छ ।




