काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘लाज शरणम्’को प्रचारप्रसार रोकिएको छ । उच्च अदालत पाटनले चलचित्रको सेन्सर पास नभएसम्म यसको प्रचार गर्न नपाइने भन्दै अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेश अनुसार, चलचित्रको प्रचारप्रसार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत नगर्न/नगराउन निर्देशन दिइएको छ । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्दोजुल्दो पात्र प्रयोग गरिएको भन्दै अदालतमा रिट दायर गरेका थिए ।
उनले बिना अनुमतिपत्र आफ्नो मुखाकृति, पहिरन, जीउडाल, कपालको शैली, हाउभाउ र लवज मिलाएर चलचित्रमा चित्रण गरिएको भन्दै आपत्ति जनाएका थिए ।
यस विषयमा केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने भन्दै अदालतले निवेदकको अनुहार र शैलीसँग मिल्ने पात्रलाई देखाइने विज्ञापन तथा प्रचार सामग्री सार्वजनिक गर्न नपाइने आदेश दिएको हो ।
यस आदेशसँगै ‘लाज शरणम्’को प्रचार अभियान प्रभावित भएको छ । फागुन १४ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको भविष्य अन्योलमा परेको छ । यसैबीच, बुधबार रिलिज गर्ने तयारी गरिएको ट्रेलर सार्वजनिक कार्यक्रमसमेत प्रभावित हुने भएको छ ।
चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’को गेटअप आलमको जस्तो देखिएको बताइन्छ । कुमार कट्टेलले निर्देशन गरेको यस चलचित्रको अबको आगामी कदम बारे निर्माण टिमले कुनै प्रतिक्रिया दिएको छैन ।






