भक्तपुर । भक्तपुरको कौशलटार बसपार्क विहानैदेखि व्यस्त छ । कोही यात्रा गर्ने तयारीमा छन्, कोही चिया पसलमा गफिइरहेका छन् । त्यही चिया पसलको एक कुनामा एक्लै चिया पिउँदै छन्, करण भुजेल ।
करण तनहुँको बन्दीपुरका बासिन्दा हुन् । २३ वर्षीय करणले सूचना प्रविधि (आईटी) मा स्नातक गरेका छन् । उनी वेबसाइट विकास, मोबाइल एप निर्माण, ग्राफिक्स डिजाइन र भिडियो सम्पादनमा दक्ष छन् । तर, सीप र संघर्ष अनुसारको रोजगारी पाउन सकेका छैनन् ।
करणले आफ्नै ठाउँमा केही गर्ने सपना देखे । साथीहरूसँग मिलेर व्यवसाय सुरु गर्ने प्रयास गरे, तर लगानीको अभाव भयो । बैंकहरूले कर्जा दिएनन्, परिवारको आर्थिक अवस्था कमजोर थियो । “सबैले राम्रो कुरा गर्छन्, आफ्नो व्यवसाय गर्नुपर्छ भन्छन्, तर कसैले लगानी गर्दैन,” करण भन्छन्, “बिना धितो बैंकले कर्जा दिंदैन । अब विदेश गएर पैसा कमाउँछु, अनि व्यवसाय थाल्छु ।”
रोजगारीका लागि विदेश जानु करणको रहर होइन, बाध्यता हो । उनले देशमै अवसर खोज्ने प्रयास नगरेका भने होइनन् । स्थानीय तहमा आईटी अफिसरका लागि आवेदन दिए, १४ पटक परीक्षा पास पनि गरे । तर, अन्तिम छनोटमा फालिए ।
आर्थिक संकटले पढाइ छोड्ने दोबाटोमा सपना
विदेश जाने दोबाटोमा उभिएकी अर्की पात्र हुन्, २१ वर्षीया सपना । उनी हाल स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । तर, उनको पढाइ निरन्तर रहने वा अधुरै छोड्नुपर्ने अन्योल छ । “घरको अवस्था दयनीय छ, जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ,” उनले भनिन्, “पढाइ छोडेर अब विदेश जाने योजना बनाइरहेकी छु ।”
सपनाका धेरै साथीहरू पहिले नै विदेश गइसके । कोही अस्ट्रेलिया, कोही क्यानडा, कोही कतारमा छन् । उनीहरूसँग कुरा गर्दा विदेशमा दु:ख भएपनि कमाइ राम्रो हुने सुनिन्छ । यही कारण सपना पनि त्यही बाटो रोज्न बाध्य भएकी छिन् । “देशमै अवसर खोज्दा सिफारिस वा घूस चाहिन्छ । मसँग न स्रोत छ, न पैसा,” उनी भन्छिन् ।
चार वर्षदेखि बेरोजगार विशाल
२४ वर्षीय विशाल मगरले चार वर्षअघि व्यवस्थापन संकायमा स्नातक सके । त्यसपछि उनले विभिन्न कम्पनीहरूमा आवेदन दिए । तर कतै अनुभव मागिन्थ्यो, कतै स्रोत र सिफारिस ।
“स्नातकको प्रमाणपत्र लिएर हिडेको चार वर्ष भइसक्यो, तर स्थायी जागिर भेट्टाउन सकेको छैन,” विशाल भन्छन्, “न त लोकसेवा परीक्षामा पास गर्न सकियो, न त निजी क्षेत्रमा ठोस अवसर पाइयो । जहाँ गएपनि सिफारिस चाहिन्छ, नत्र घूस ।”
पारिवारिक जिम्मेवारी बढ्दै गएपछि विशाल अहिले एउटा खुद्रा पसलमा काम गर्छन् । महिनाको १२ हजार कमाइ हुन्छ, तर त्यो पनि काठमाडौंमा खर्च टाल्न गाह्रो छ । उनी विकल्प खोजिरहेका छन्- या त विदेश जाने, या त गाउँ फर्किने ।
उद्यम गर्न खोज्दा असफल निराजन
२५ वर्षीय निराजन खड्काले आफ्नै गाउँमा कृषि व्यवसाय सुरु गर्ने सोच बनाए । उनले तरकारी खेती गर्न खोजे, बैंकमा कर्जा मागे । तर, बिना धितो बैंकले कर्जा दिएन । सरकारी अनुदान योजनाहरूमा पहुँच राख्नुपर्छ भन्ने थाहा पाएपछि उनले सम्बन्धित कार्यालय धाए ।
“काम गर्ने रहर थियो, तर लगानी नभएपछि के गर्ने ?” निराजन भन्छन् । अन्तत: उनले कृषि व्यवसायको सपना त्यागे र रोजगारीका लागि कतार जाने प्रक्रिया अघि बढाए ।
सामाजिक दबाबले थिचिएकी रिमा
२० वर्षीया रिमा श्रेष्ठ अहिले स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । तर, उनको समस्या पारिवारिक दबाब हो । घरमा उनलाई चाँडै बिहे गरिदिनुपर्ने मानसिकता छ ।
“मलाई पढाइ पूरा गर्न मन छ, तर घरबाट विवाह गर्नुपर्छ भनेर दबाब दिइरहनुहुन्छ,” रिमा भन्छिन्, “म आत्मनिर्भर हुन चाहन्छु, जागिर खोज्न चाहन्छु, तर परिवारको सोच बदल्न गाह्रो छ ।”
नेपालका युवाको साझा समस्या : समाधान कहिले ?
यी उदाहरणहरू नेपाली युवा पुस्ताले भोगिरहेका साझा समस्या हुन् । शिक्षा, रोजगारी, उद्यमशीलता, पारिवारिक र सामाजिक दबाब- यी सबै कुराले युवाहरूको भविष्य अन्योलग्रस्त बनाइरहेको छ । यसको समाधान कहिले आउला ? करण र सपना जस्ता हजारौं युवाले यसको उत्तर खोजिरहेका छन् ।




