काठमाडौं । आजभोलि SEO (Search Engine Optimization) र Digital Marketing को नाममा हजारौं रुपैयाँ असुल्ने संस्थाहरूको बाढी आएको छ । यी संस्थाहरूले ठूला ठूला दाबी गर्छन्- “हाम्रो कोर्स लिएपछि तिमी डिजिटल मार्केटिङको मास्टर बन्नेछौं,” “हाम्रो ट्रेनिङ लिएको तीन महिनामा ग्यारेन्टी जागिर पाइन्छ,” अनि “तिमी पनि घरमै बसेर हजारौं डलर कमाउन सक्छौं ।” तर, वास्तविकता भने अर्कै छ, उनीहरु ठगिमा परिरहेका हुन्छन् ।
विद्यार्थीहरू ठगिने प्रमुख कारणहरू
धेरै विद्यार्थीहरू यी कोर्सहरूमा आकर्षक विज्ञापन र जाली ग्यारेन्टीका कारण ठगिन्छन् । सामाजिक सञ्जालमा देखाइने १०० प्रतिशत प्लेसमेन्ट ग्यारेन्टी जस्ता दाबीहरू प्राय: झूटा हुन्छन् । वास्तविक रूपमा, धेरै विद्यार्थीहरूले यी कोर्स पूरा गरेपछि पनि काम पाइरहेका हुँदैनन् । यी संस्थाहरूले डिजिटल मार्केटिङ वा SEO को नाममा आधारभूत जानकारी मात्र दिन्छन्, जुन इन्टरनेटमा सजिलै फेला पार्न सकिन्छ ।
कमजोर सिकाइको स्तर
सिकाइको स्तर अत्यन्त कमजोर हुने भएकाले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्राप्त हुँदैन । प्रशिक्षकहरू स्वयं SEO वा डिजिटल मार्केटिङको गहिरो ज्ञान बिना नै कोर्स सिकाइरहेका हुन्छन् । उनीहरूले आफैं युट्युबमा सिकेका कुरा रटेर विद्यार्थीलाई सिकाउने गर्छन् । यस्तो कमजोर तालिमले विद्यार्थीहरूलाई असली मार्केटमा प्रतिस्पर्धा गर्न अयोग्य बनाइदिन्छ ।
प्रशिक्षकहरूको गैर-जिम्मेवारीपन
धेरै प्रशिक्षकहरू आफूलाई विशेषज्ञ भनेर प्रचार गर्छन्, तर उनीहरूसँग कुनै वास्तविक अनुभव हुँदैन । प्रशिक्षण दिने व्यक्तिहरूको उद्देश्य विद्यार्थीलाई ज्ञान दिनु होइन, केवल पैसा कमाउनु मात्र हो । उनीहरूले आफ्नै स्किल अपडेट गर्न खोज्दैनन्, नयाँ ट्रेन्ड बारे जानकारी राख्दैनन्, र विद्यार्थीहरूको समस्यालाई गम्भीर रूपमा लिँदैनन् । सधैं उही पुराना स्लाइडहरू देखाएर पढाउने, झूटो सफलताका कथा सुनाएर लोभ्याउने र सिकाइको गुणस्तर सुधार गर्न चासो नदेखाउने प्रवृत्ति व्यापक छ ।
विद्यार्थीहरुको गुनासो : सबै सपना चकनाचुर भयो
एक युवा रोशन भन्छन्- “मैले काठमाडौंको एक चर्चित डिजिटल मार्केटिङ संस्थाबाट तीन महिने SEO कोर्स लिएको थिएँ । ट्रेनिङ सुरू हुँदा धेरै ठूलो-ठूलो सपना देखाइयो-‘तिमीहरू तीन महिनाभित्र डिजिटल मार्केटिङ एक्सपर्ट बन्नेछौ ।’ तर, तीन महिना बितिसक्दा पनि मलाई साधारण वेबसाइटको SEO कसरी गर्ने भन्ने कुरा समेत प्रस्ट भएन । अहिले काम खोज्दा थाहा भयो- सिकेको ज्ञान अपूर्ण र पुरानो रहेछ ।”
सुमन भन्छन्- “मलाई डिजिटल मार्केटिङ सिकेर फ्रीलान्सिङ गर्ने ठूलो चाहना थियो । मैले एउटा संस्थाबाट SEO कोर्स लिए । कोर्स अवधिभर मलाई केबल आधारभूत कुरा मात्र सिकाइयो, जुन अनलाइनमा नि:शुल्क पाइन्छ । ‘फ्रीलान्सिङ गर्न सिकाइन्छ’ भनिए पनि, कोर्स सकिएपछि कसरी क्लाइन्ट खोज्ने, कसरी प्रोजेक्ट डेलिभर गर्ने भन्ने कुरा प्रशिक्षकहरूले सिकाएनन् । अहिले मलाई महसुस हुन्छ कि म ठगिएँ ।”
समीक्षा भन्छिन्- “SEO कोर्स पूरा गरेपछि मलाई जागिर पाइन्छ भन्ने ग्यारेन्टी गरिएको थियो । तर, जब जागिर खोज्न थालेँ, कसैले पनि प्रमाणपत्रको वास्ता गरेन ।कम्पनीहरूलाई व्यवहारिक ज्ञान चाहिने रहेछ । कोर्सका प्रशिक्षकहरूले मात्र देखाउने प्रमाणपत्रले काम नगर्ने रहेछ । यदि मैले पहिले नै अनलाइन स्रोतहरूबाट सिकेको भए, त्यति पैसा खर्च गर्नु आवश्यक नै थिएन ।”
SEO प्रशिक्षण भन्छन्- ‘प्रमाणपत्र होइन, व्यवहारिक ज्ञान महत्वपूर्ण’
यस सम्बन्धमा SEO को प्रशिक्षण गराइरहनु भएका प्रकाश खट्टिवडा भन्छन्- “SEO एक विशुद्ध सीपमा आधारित क्षेत्र हो, जहाँ प्रमाणपत्रभन्दा व्यवहारिक ज्ञान नै निर्णायक हुन्छ । सही प्रशिक्षण नपाउँदा विद्यार्थीहरू केवल आधारभूत जानकारीको भरमा रहन्छन्, जसले गर्दा वास्तविक डिजिटल मार्केटिङ उद्योगमा टिक्न गाह्रो पर्छ ।”

प्रमाणपत्रको लोभ देखाएर ठगि गर्ने प्रवृत्ति
अर्को समस्या प्रमाणपत्रको लोभ देखाएर पैसा असुल्ने प्रवृत्ति हो । धेरै संस्थाहरू प्रमाणपत्रलाई मुख्य आकर्षण बनाइदिन्छन्, तर वास्तविक रूपमा जागिर पाइने वा व्यवसाय बढाउने कुरा प्रमाणपत्रले होइन, सीपले निर्धारण गर्छ । विद्यार्थीहरूले प्रमाणपत्रभन्दा व्यवहारिक ज्ञान र सीपमा ध्यान दिन आवश्यक छ ।
विद्यार्थीहरूले अपनाउनु पर्ने सावधानीहरू
विद्यार्थीहरूले ठगिन नदिन केही उपायहरू अपनाउनुपर्छ । SEO वा डिजिटल मार्केटिङ सिक्नु अघि राम्रोसँग रिसर्च गर्नुहोस् । प्रशिक्षकको अनुभव, कम्पनीको ट्र्याक रेकर्ड र विद्यार्थीहरूको समीक्षाहरू अध्ययन गर्नुहोस् । युट्युब, गूगल र नि:शुल्क कोर्सहरूबाट प्राथमिक ज्ञान लिनुहोस् । साथै, व्यवहारिक अनुभव प्राप्त गर्नका लागि स्वतन्त्र रूपमा प्रोजेक्टहरूमा काम गर्नुहोस् ।
अत: सीप सिकाउने नाममा विद्यार्थी ठग्ने प्रवृत्ति रोक्न आवश्यक छ । यदि कुनै संस्थाले पैसा लिएर पनि आधारभूत कुरा सिकाउन सक्दैन भने, त्यो स्पष्ट रूपमा ठगि नै हो । विद्यार्थीहरूले बुझ्नुपर्छ- प्रमाणपत्रभन्दा ज्ञान र सीप नै महत्वपूर्ण हो । यदि तपाईं पनि यस्तो संस्थाबाट ठगिएको महसुस गर्नुहुन्छ भने, खुलस्त बोल्नुहोस्, ताकि अरू विद्यार्थीहरू पनि सजग रहून् ।




