नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १ स्थित ब्रिटिश पेन्सन क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदी–भाइ अझै फेला परेका छैनन् । मंगलबार साँझ ६ बजेतिर बागलुङ स्थायी घर भई हाल गैडाकोट १ मा बसोबास गर्दै आएका १३ वर्षीया दीक्षा सेर्पुञ्जा र उनका ९ वर्षीय भाइ स्वप्निल सेर्पुञ्जा नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार ती दिदी–भाइ ६० वर्षीया हजुरआमा सुनमाया कुमालसँग नारायणी नदी किनारमा खेल्न गएका थिए । फर्किने क्रममा हजुरआमाको चप्पल नदी किनारमा छुटेपछि चप्पल लिन गएका भाइ स्वप्निल डुबेका थिए । उनलाई बचाउन खोज्दा दिदी दीक्षा पनि डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
दुबै जना स्थानीय नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयका विद्यार्थी थिए । दीक्षा कक्षा ७ र स्वप्निल कक्षा ४ मा अध्ययनरत थिए । दुवैले वार्षिक परीक्षा दिएर नतिजाको प्रतीक्षामा थिए ।
घटनापछि सुरु गरिएको खोजी कार्य अझै जारी रहेको र हालसम्म उनीहरू फेला नपरेको डीएसपी नेपालले जानकारी दिए । स्थानीय बासिन्दा, सुरक्षाकर्मी र गोताखोरको सहयोगमा नारायणी नदीमा व्यापक खोजी कार्य भइरहेको छ ।




