काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ का उपाधि विजेता किरण गजमेरले आफूले जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्ने बताएका छन् । हिजो शनिबार भएको फाइनल प्रतियोगीतामा जित हाँसिल गरेपछि उनले आफूले जितेको रकमबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् ।
उनले भनेका छन्– ‘मैले के सोचेको छु भने पूर्वपट्टी शरणार्थी क्याम्पमा एउटा एम्बुलेन्स किन्ने भएको छु । र अर्को नेपालको पश्चिमतिर जहाँ आवश्यकता छ त्यहाँ पनि एम्बुलेन्स किन्ने सोच बनाएको छु । २५ लाखबाट बाँकी रहेको एक हजार रुपैयाँ चाहीँ, जुन सरस्वती माताको देन हो त्यसलाई म मेरो मामुको हातमा सुम्पिनेछु ।’
शरणार्थी शिविरमा मेडिकल सेवा नभएकाे भन्दै उनले आफ्नी दिवंगत हजुरआमालाई पनि सम्झिएका छन् । एम्बुलेन्स समयमै नआउँदा आफ्नी हजुरआमाले ज्यान गुमाउनु परेको उनको भनाइ छ । ‘शरणार्थी शिविरमा अझै पनि सात आठ हजार मानिसहरु हुनुहुन्छ, उहाँहरुसँग नागरिकता छैन । त्यहाँ मेडिकल सुविधा केही पनि छैन । शिक्षा पनि छैन । कोही बिरामी भयो भने एम्बुलेन्स समयमा नआउने समस्या छ । घन्टौँ कुर्नुपर्ने, त्यहीँ ज्यान गुमाउनुपर्ने अवस्था छ । मेरो हजुरआमा पनि त्यसैगरी बित्नुभयो, समयमा एम्बुलेन्स नआउँदा’ उनले भने ।
उनले जितपछि विगतका दिनहरू स्मरण गरेका छन् – ‘हिजोका दिनमा मैले पनि विभिन्न संस्थाहरुसँग मागेरै चामल थापेर खाएकाे हो, म त्यो ठाउँबाट आएको व्यक्ति हुँ । भलै अहिले शरणार्थी जीवनभन्दा अलिकति माथि उठेको छ जीवनशैली अमेरिकामा । तर हामी धनी मान्छे होइनौँ । आमा बुवाले सामान्य जागिर गरेर हामी दुई जना छोरालाई पालिरहनु भएको छ । हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि मलाई ठिक थियो । आज अमेरिकामा हिजोको भन्दा थोरै राम्रो जीवनशैली हुँदा पनि हामी ठिक छौँ, खुशी छौँ । त्यसैले म यहाँबाट प्राप्त रकम एम्बुलेन्स किनेर सहयाेग गर्न चाहन्छु, जतिसक्दाे चाँडाे ।’






