पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका १ राई डाँडामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुने व्यक्ति तानसेन नगरपालिका ६ का ४१ वर्षीय पदम बहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएका दर्लामीको अस्पतालमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल घोरबन्दा क्षेत्रबाट तानसेन बर्तुङ्गतर्फ जाँदै गर्दा उकालोमा अचानक ब्याक भई दुर्घटनामा परेको थियो ।
सोही मोटरसाइकलमा सवार दर्लामीका १८ वर्षीय छोरा मन्दिप दर्लामी पनि घाइते भएका छन् । घाइते बुबा–छोरालाई उपचारका लागि तत्कालै युनाइटेड मिसन अस्पताल लगिएको थियो । अस्पतालका अनुसार मन्दिप दर्लामीको अवस्था हाल सामान्य रहेको छ ।




