काठमाडौं । गायक सरोज लामिछाने र गायिका शान्तिला सुब्बाको आवाजमा सजिएको नयाँ लोकदोहोरी गीत ‘मलाई ओके छ’ सार्वजनिक भएको छ । यो गीत सरोज लामिछानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको रचना र संगीत स्वयं सरोज लामिछानेले गरेका छन् भने भिडियोमा पारस बास्ताकोटी र ज्योति खड्काको दमदार अभिनय हेर्न सकिन्छ । माया, भावनात्मक समर्पण र सांस्कृतिक झल्को प्रस्तुत गर्ने यो गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।
संगीत पक्षको विशेषता
गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन्, जसले परम्परागत धुनलाई आधुनिकताको स्वादसहित प्रस्तुत गरेका छन् । भुवन गन्धर्वले बजाएको मादलरढोलक, रत्न बिकको बांसुरी, हेमन्त कञ्चनको सारंगी, बलबहादुर जैरूको सहनाइ र गणेश भूषालको ट्रम्पेटले गीतलाई लोकगन्धले भरिएको बनाएको छ ।
मिश्रण तथा माष्टरिङ्ग कुमार राना मगरले गरेका छन् भने रेकर्डिङ खुमान राना मगर र सुमन राना मगरले मारुनी रेकर्डिङ स्टुडियोमा सम्पन्न गरेका हुन् ।
भिडियो पक्षमा उत्कृष्टता
गीतको भिडियो पारस बास्ताकोटीको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको हो । भिडियोमा निर्देशक बास्ताकोटी स्वयं र ज्योति खड्काले अभिनय गरेका छन् । छायांकन रमित बोहोरा र उनको टिमले गरेका हुन् भने सहायक छायाकार सुजन तोलांगी थिए ।
भिडियोको सम्पादन तथा रङ संयोजन राज धामीले गरेका छन् । सिमा शाहीले श्रृंगार संयोजन गरेकी हुन् भने पोष्ट प्रोडक्सनको काम साइपाल प्रोडक्सन, शान्तिनगर, काठमाडौंमा सम्पन्न भएको हो ।






