काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगन्जकी नेपाली छात्रा प्रिसा साहको रहस्यमय मृत्यु प्रकरणमा परराष्ट्र मन्त्रालयले औपचारिक कूटनीतिक पहल थालेको छ ।
बिहीबार साँझ आफ्नै होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी छात्रा साहको घटनाले नेपालमा चासो बढाएको छ । यसैबीच, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै आफू यो घटनाबाट मर्माहत भएको बताइन् ।
“भारतको प्रतिष्ठित शैक्षिक संस्थान आइआइटी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत फेला परेको घटनाबाट म अत्यन्त दुखी छु,” मन्त्री राणाको भनाइ छ ।
साथै, उहाँले घटनालगत्तै परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा राज्य सरकार र नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य र तथ्य पत्ता लगाउन कूटनीतिक पहल प्रारम्भ गरिसकेको जानकारी दिइन् ।
छात्रा साहको मृत्युको कारण बारे भारतीय पक्षबाट अहिलेसम्म औपचारिक विवरण सार्वजनिक भइसकेको छैन । यद्यपि घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली पक्षले गम्भीरतापूर्वक अनुसन्धानको माग गरेको हो ।
यस विषयमा नेपालस्थित प्रिसा साहको परिवार, मित्रवर्ग र शैक्षिक क्षेत्रका व्यक्तिहरूले छानबिन पारदर्शी रूपमा होस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयले पनि घटनाका सम्बन्धमा थप विवरण आउना साथ जानकारी गराउने प्रतिबद्धता जनाइन् ।




