एजेन्सी । कर्नाटक सरकारले राज्य स्वामित्वको ‘मैसूर स्यान्डल सोप’ ब्रान्डको प्रचारका लागि दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटियालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेपछि भारतमा विवादको श्रृंखला सुरु भएको छ । विपक्षी दल र सर्वसाधारणले स्थानीय प्रतिभालाई बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
उद्योग मन्त्री एम.बी. पाटिलद्वारा गरिएको यो घोषणा सार्वजनिक भएपछि कर्नाटकमा राजनीतिक बहस चर्किएको छ । आलोचकहरूले प्रश्न उठाएका छन्- ‘राज्यमा प्रशस्त योग्य स्थानीय कलाकारहरू हुँदा हुँदै बाह्य राज्यकी अभिनेत्री किन रोजिइन् ?’
ब्रान्डको प्रचारमा बाह्य अनुहार, स्थानीयको उपेक्षा
विपक्षी दलहरू, विशेष गरी बीजेपी र जेडीएसका नेताहरूले सरकारको निर्णयलाई कर्नाटक गौरव माथिको चोट भनेका छन् । उनीहरू भन्छन्, “मैसूर स्यान्डल सोप जस्तो ऐतिहासिक ब्रान्डको प्रतिनिधित्व स्थानीय अनुहारले गर्नुपर्थ्यो । बाह्य राज्यकी कलाकारलाई नियुक्त गर्नु अपमानजनक छ ।”
मन्त्रीको स्पष्टीकरण
उद्योग मन्त्री एम.बी. पाटिलले यो नियुक्ति कुनै क्षेत्रीय पूर्वाग्रह नभइ ‘ब्रान्ड पुन:स्थापना’को रणनीतिक निर्णय भएको दाबी गरेका छन् । “युवापुस्ता माझ ब्रान्ड पुन: लोकप्रिय बनाउन तमन्नाको अखिल भारतीय लोकप्रियता, सामाजिक सञ्जालमा प्रभाव र पहिचानलाई ध्यानमा राखेर निर्णय गरिएको हो,” उनले पत्रकारहरूलाई भने ।
केएसडीएलको आधिकारिक धारणा
कर्नाटक सोप एण्ड डिटर्जेन्ट्स लिमिटेडका अधिकारीहरूले तमन्ना भाटियालाई नियुक्त गर्नु अगाडि दीपिका पादुकोण, रश्मिका मन्दाना, पूजा हेगड़े र कियारा आडवाणीजस्ता कलाकारहरूको मूल्यांकन गरिएको बताएका छन् ।
तर तमन्नाको सामाजिक प्रभाव (३० मिलियन फलोअर्स), ब्रान्डसँगको अनुकूलता र पारिश्रमिकका शर्तहरूका कारण उनी चयनमा अघि रहेको केएसडीएलले जनाएको छ । यो ब्रान्डको प्रचारमा तमन्ना दोस्रो ‘नन-लोकल’ सेलिब्रिटी हुन् । यसअघि २००६ मा पूर्व क्रिकेटर एम.एस. धोनीले यस ब्रान्डको प्रचार गरेका थिए ।
सामाजिक सञ्जालमा आलोचना र सुझाव
ट्विटर, फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममा जनताले सरकारको निर्णयको आलोचना गर्दै स्थानीय कलाकारहरू रुक्मिणी वसन्त, प्रणिता सुभाष लगायतको नाम अघि सारेका छन् । एक प्रयोगकर्ताले लेखे, “मैसूर ब्रान्डको पहिचान कन्नड कलाकारबाट हुनुपर्थ्यो । यो हाम्रो सांस्कृतिक आत्मसम्मानसँग जोडिएको विषय हो ।”






