काठमाडौं । सरकारले बहुप्रतिक्षित काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । बिहीबार संसदमा प्रस्तुत बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले निर्माण कार्य द्रुतगतिमा अघि बढाउने घोषणा गर्दै आयोजना सकिने समयरेखा पुन: निर्धारण गरेका हुन् ।
उनका अनुसार आगामी वर्ष २०८२/८३ मा मात्रै ३७ किलोमिटर सडक, ४ किलोमिटर सुरुङ र ६० वटा पुल निर्माण पूरा गरिनेछ । त्यसका लागि सरकारको तर्फबाट २४ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ, जुन चालु वर्षको २२ अर्ब ५४ करोड ९३ लाख रुपैयाँभन्दा केही बढी हो ।
तर तथ्यांक हेर्ने हो भने, सन् २०१७ मा नेपाली सेनालाई जिम्मा दिइएपछि अहिलेसम्म करिब ८ वर्ष बितिसक्दा पनि कुल निर्माण प्रगति ४० प्रतिशत नपुगेको देखिन्छ । नेपाली सेनाका अनुसार, हालसम्म भौतिक प्रगति ३९.३४ प्रतिशत र वित्तीय प्रगति ४१ प्रतिशत मात्र पुगेको छ ।
सम्झौता अनुसार ४ वर्षमै सकिनुपर्ने आयोजना ८ वर्षमा पनि अधुरो
२०७४ साउन २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाबीच भएको समझदारी अनुसार यो आयोजना २०७८ सालभित्र सम्पन्न हुनुपर्ने थियो । तर, समयमै काम नसकिने भएपछि म्याद क्रमश: २०८० र २०८३ चैतसम्म बढाइयो । अब भने सरकार आफैले २०८३/८४ सम्म सकिने दाबी गरेपनि प्राविधिक विज्ञ र सरोकारवालाहरू उक्त दाबी प्रति शंकास्पद छन् ।
खोकना–बुङ्गमती खण्डमा पुरानै समस्या : जग्गा अधिग्रहण
आयोजनाको ढिलो हुनुको प्रमुख कारण खोकना–बुङ्गमती क्षेत्रमा जग्गा अधिग्रहणको विवाद हो । स्थानीयले उक्त क्षेत्रलाई धार्मिक र सांस्कृतिक महत्वको स्थल मानेकाले मुआब्जा वितरणमा सहमति जुट्न सकेको छैन ।
हालसम्म बोसी खान्की गुठीको १० रोपनीभन्दा बढी जग्गा मन्त्रालयको नाममा आइसकेको छ । तर, १७८ रोपनीभन्दा बढी जग्गा अझै अधिग्रहण गर्न बाँकी रहेको छ । सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार समस्या समाधानका लागि समिति गठन भइसकेको छ र वैकल्पिक डिजाइनसमेतको काम अगाडि बढिरहेको छ ।
सुरुङमार्ग प्रगति : महादेवटार, धेद्रे र लेनडाँडामा काम अगाडि
काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत निर्माण गरिने सातवटा सुरुङमार्गमध्ये केहीमा उल्लेखनीय प्रगति देखिएको छ । महादेवटार सुरुङ मार्ग (३,३८६ मिटर) को बायाँ टनेलको ६८ प्रतिशत खन्ने कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, धेद्रे र लेनडाँडा सुरुङमा दुवै टनेलको ब्रेकथ्रु (छिनोफानो) भइसकेको छ, जसले सुरुङ खन्ने कार्य उल्लेख्य रूपमा अगाडि बढेको संकेत गर्छ ।
देवीचौर (१,००० मिटर) र सिसौटार (३९० मिटर) सुरुङमार्गको खरिद सम्झौता तथा डिजाइन कार्य सम्पन्न भइसकेको छ भने चन्द्राम भीर सुरुङ (२,२५० मिटर) मा हालसम्म ९१ मिटर मात्र खन्ने कार्य सम्पन्न भएको छ । यस्तै, मौरी भीर सुरुङको डिजाइन स्वीकृत भई हाल निर्माण प्रक्रिया प्रारम्भ भइसकेको जनाइएको छ ।
पुल निर्माणमा पनि गति : चालु वर्षमा २० पुल सक्ने लक्ष्य
काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत हालसम्म ८९ स्थानमा पुल निर्माणको योजना बनाइएकोमा ८५ स्थानका लागि निर्माण सम्झौता भइसकेको छ । तीमध्ये ५ स्थानमा पुल निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ । बाँकी पुलहरू निर्माणको विभिन्न चरणमा रहेका छन् । नेपाली सेनाका अनुसार चालु आर्थिक वर्षभित्र थप २० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ, जसअनुसार अधिकांश पुलमा फाउन्डेसन कार्य सकिएको र सुपर स्ट्रक्चर निर्माण तीव्र गतिमा अगाडि बढिरहेको जनाइएको छ ।
जग्गा अधिग्रहण र वातावरणीय प्रभाव मूल्याङ्कनको अवस्था
२४.८ किलोमिटरदेखि ७०.९७७ किलोमिटरसम्म पर्ने द्रुतमार्ग खण्डको अधिकांश जग्गा अधिग्रहण भइसकेको छ भने बाँकी क्षेत्रमा अधिग्रहणका लागि स्वीकृत प्रक्रिया जारी छ । वन क्षेत्रमा पर्ने खण्डहरूमा वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा आवश्यक रूख कटान र वन उपयोगको अनुमति पनि प्राप्त भइसकेको छ ।
अहिलेसम्म ४४,४२० वटा रूख काटिएको छ भने कटान गरिएको रूखको सट्टामा ७ लाख ५ हजार ५५२ बिरुवा रोपिएको नेपाली सेनाले जनाएको छ । मकवानपुर जिल्लामा पर्ने ५१.८७१ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पनि आवश्यक अनुमति प्राप्त भइसकेको छ ।




