काठमाडौं । नेपालको इतिहासमा एक त्रासदीपूर्ण रातको रूपमा चिनिएको दरबार हत्याकाण्डको आज २४ औँ स्मृति दिवस मनाइँदैछ । वि.सं. २०५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी राजदरबारमा आयोजित पारिवारिक भोजका क्रममा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित उनको परिवारका धेरै सदस्यको ज्यान गएको थियो ।
उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाह, राजपरिवारका सदस्यहरू शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको घटनास्थलमै मृत्यु भएको थियो ।
गम्भीर घाइते अवस्थामा रहेका युवराज दीपेन्द्र शाहलाई घटनापछि जेठ २० गते औपचारिक रूपमा राजा घोषणा गरिएको थियो । तर, उनी उपचारको क्रममा अस्पतालमा अचेत अवस्थामा रहेका थिए । यसबीच तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायब राजा नियुक्त गरिएको थियो ।
युवराज दीपेन्द्रको निधन वि.सं. २०५८ साल जेठ २२ गते घोषित गरिएको थियो । त्यसपछि ज्ञानेन्द्र शाहलाई औपचारिक रूपमा राजा बनाइएको थियो । यस दिन दरबार हत्याकाण्डमा ज्यान गुमाउने राजपरिवारका सदस्यहरूको सम्झनामा विभिन्न कार्यक्रमहरू आयोजना हुने गरेका छन् । दरबार हत्याकाण्डको वास्तविकता अझै पनि रहस्यमय र विवादास्पद रूपमा व्याख्या हुने गर्दछ ।




