काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले कुवेत, कतार, पोर्चुगल र युकेमा पठाइदिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेका थिए ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २२ बस्ने रौतहट परोहा नगरपालिका ८ घर भएका ३५ वर्षीय हरिकृष्ण ठाकुर, ललितपुर महानगरपालिका ५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका १ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका १५ बस्ने काभ्रे पाँचखाल नगरपालिका ३ घर भएका ५५ वर्षीय कविराज सिपखान रहेका छन् ।
प्रहरीका अनुसार हरिकृष्णले कतार पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख रुपैयाँ, रिनाले पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै तीन जना पीडितबाट १८ लाख ५५ हजार रुपैयाँ र कविराजले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४१ लाख १४ हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरूविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा प्राप्त पीडितहरूको उजुरीको आधारमा अनुसन्धान गर्दै प्रहरीले हरिलाई काठमाडौं २२ रिनालाई ललितपुर ५ र कविराजलाई काठमाडौं २८ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरी स्रोतले जनाएको छ ।




