वीरगंज । तराई–मधेसमा गर्मी अझै बढ्ने संकेत देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशमै अड्किएकोले देशभर मनसुनी वर्षा फैलिन सकेको छैन, जसका कारण विशेष गरी तराईका जिल्लामा तापक्रम दिनानुदिन चर्कँदै गएको छ ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार गएको जेठ १४ गते कोशी प्रदेशबाट मनसुन प्रवेश गरे पनि त्यसपछि देशका अन्य भागमा प्रभाव नपुगेको हो । ‘मनसुन कोशीमै अड्किएको छ, केही दिनमै देशभर फैलिने सम्भावना छ,’ उनले बताए ।
सोमबार देशकै सबैभन्दा बढी तापक्रम धनगढीमा मापन गरिएको थियो, जहाँ पारा ३९ देखि ४० डिग्री सेल्सियससम्म पुगेको थियो। वीरगंज, नेपालगञ्ज, जनकपुर, बिराटनगर लगायतका शहरहरूमा तापक्रम ३८ देखि ३९ डिग्रीसम्म पुगेको मौसमविद्हरुको भनाइ छ ।
अर्का मौसमविद् विनोद पोखरेलका अनुसार बुधबारदेखि देशका केही स्थानमा हल्का वर्षा सुरु हुने सम्भावना छ भने बिहीबारदेखि उल्लेख्य वर्षा हुने अपेक्षा गरिएको छ । वर्षासँगै तापक्रममा पनि क्रमिक कमी आउने अनुमान गरिएको छ ।
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशका धेरै भागमा मनसुनी वायुको प्रभाव छ । आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ, बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने सम्भावना छ ।
कोशी प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी भूभागका एक दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक दुई ठाउँमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।




