नेपालको प्रदेश नं. ५, लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाको सुपादेउरालीमा समुद्र सतहदेखि करिब ४,५०० मिटर उचाइमा अवस्थित सुपादेउराली देवीको मन्दिर एउटा पवित्र धार्मिक स्थल हो । सदरमुकाम सन्धिखर्कबाट ३० किलोमिटर अगाडि, महेन्द्र राजमार्ग अन्तर्गत गोरुसिङ्गेबाट करिब ४७ किलोमिटर टाढा रहेको यो मन्दिर सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको सीमा क्षेत्र अर्थात दोसाँधमा अवस्थित छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो मन्दिरमा श्रद्धालु भक्तजन पूजा गर्न र आस्था प्रकट गर्न आउने गरेका छन् । अर्घाखाँची जिल्लाको मध्य भागमा रहेको यस देवीस्थललाई स्थानीयले आस्थाको प्रतीकका रूपमा मान्ने गर्दछन् । नरपानी र फलामे भञ्ज्याङबीच, भीमकाय खोँचको काहालीलाग्दो स्थानमा अवस्थित यो मन्दिर पूर्वतर्फ खस्ने सुपाखोलाको मनमोहक दृश्यले दर्शनार्थीहरूको ध्यान आकर्षित गर्छ ।
मन्दिर परिसरमा दुईवटा फूल र ढुङ्गा चढाएर देवीप्रति सद्भावना प्रकट गरिन्छ । बाइसे र चौबिसे शाहवंशीय राजाहरूको पालामा निर्माण गरिएको यो मन्दिरमा २०४० सालदेखि नियमित पूजा आराधना हुँदै आएको छ । २०६० सालमा “बाबा गुरु” को नामले परिचित नरनारायणले करिब डेढ करोड रुपैयाँको लगानीमा आधुनिक मन्दिर निर्माण गरेपछि यस क्षेत्रको धार्मिक महत्व र भक्तजनको संख्यामा वृद्धि भएको छ । मन्दिर निर्माणमा प्राचीन विधिअनुसार सामग्री प्रयोग गरिएको छ र चट्टानले बनेको पहाडको बीचमा अवस्थित यो स्थलबाट मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ ।
फागुन, चैत्र, वैशाख, जेठ, असोज, कार्तिक र मंसिर महिनामा दर्शनार्थीहरूको ठूलो घुँइचो लाग्ने गर्छ । एकादशी, औँसी र पूर्णिमाका दिन बाहेक अन्य दिनमा भाकल गर्दा शुभ मानिन्छ भने विशेषगरी शनिबार भाकल गर्नेहरूको भीड लाग्ने गर्दछ । यहाँ आस्थाका कारण जे भाकल मागिन्छ, त्यही मनोकामना पुरा हुने विश्वास रहेको छ ।
सुपादेउराली र नरपानी आउने पर्यटकहरूले यहाँबाट नजिकै रहेको जङ्गबहादुर जन्मेको मथुरा बेँसी दरवार, न्वारन गरिएको बल्कोट पौवा, पाणिनि तपोभूमि, अर्घादरवार, मालारानी मन्दिर, नृसिंहस्थानलगायत धार्मिक, ऐतिहासिक र प्राकृतिक स्थलहरू पनि अवलोकन गर्न पाउँछन् । श्रद्धालुहरू र पर्यटकहरूको भीडले नरपानी, शीतगङ्गा लगायत अग्ला पहाडहरू घुम्नेक्रम बढेको छ ।
किंवदन्ती अनुसार मन्दिर परिसरमा भगवान् रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो र विभिन्न शिलाहरूको अवशेष रहेको विश्वास गरिन्छ । अर्को किंवदन्ती अनुसार बाइसे राज्यको समयमा खाँचीकोटका राजकुमारी र भारतको बलरामपुरका राजकुमारबीच विवाह हुँदै गर्दा दुलही मृतावस्थामा मन्दिर नजिकै फेला परेकी थिइन् । यस घटनाले खाँचीकोटमा रोग महामारी फैलिएको र पछि एक ज्योतिषीको सुझावमा कालो पाठी बलि दिएर महामारी रोकेको जनश्रुति छ । त्यसयता खाँचीकोटका राजा ठकुरी (शाह) र अन्य थरका समुदायले यहाँ कुल पूजा गर्दै आएका छन् ।
सुपादेउराली मन्दिरको निर्माण वि.सं. १६०० सालमा खाँचीका राजा विश्वपाल शाहकी छोरी सुवर्णकुमारीको नाममा गराइएको र देवी भगवतीलाई स्थापना गरिएको भनिन्छ । मन्दिरमा सुपादेउराली देवीसँगै गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव लगायतका विभिन्न देवी-देवताका मूर्तिहरू रहेका छन् ।
प्राचीनकालमा एक लाहुरेले सेनामा भर्ती हुँदा मनोकामना पुरा हुन देवीलाई सुनको सिक्री र कालो पाठी चढाउन वाचा गरेको थियो । मनोकामना पूरा भएपछि लाहुरेले भेटी चढाउन छाडेपछि देवीले उनलाई पहरामा टाँसिएको बताइन्छ । हाल पनि त्यो स्थान “लाहुरे भिर” भनेर चिनिन्छ र त्यहाँ उनको शालिक निर्माण गरिएको छ ।
सुपादेउरालीबाट झरेर सिडी मार्ग हुँदै लाहुरे भिर पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस स्थलमा सन् २०७८ मा सस पेन्सन ब्रिज डिभिजन कार्यालयले २७२.८५ मिटर लामो झलुङ्गे पुल निर्माण गरेको छ ।
मन्दिरमा चढाएको भेटीको ७५ प्रतिशत रकम विद्यालयका लागि खर्च हुने र बाँकी २५ प्रतिशत व्यवस्थापनमा खर्च हुने गरेको छ । भेटीबाट गरिब, वृद्धवृद्धा, छात्रवृत्ति तथा स्थानीय विकासमा सहयोग पुर्याइन्छ ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण सुपादेउराली देवीको मन्दिरमा नेपाल र भारतबाट दैनिक हजारौं तीर्थयात्री आउने गरेका छन् । शक्तिस्वरुपा देवीको आस्थाले यहाँ आउने सबैको कल्याण होस् भन्ने कामना गरिन्छ ।




