काठमाडौं । इजरायल र इरानबीच जारी तनाव र द्वन्द्वका बाबजुद पनि त्यहाँ कार्यरत नेपाली कामदारहरू स्वदेश फर्कन इच्छुक छैनन् । ज्यानको जोखिम त छ तर त्यसभन्दा ठूलो चुनौती उनीहरूका लागि आर्थिक अस्थिरता र स्वदेश फर्किएपछि भोग्नुपर्ने बेरोजगारीको त्रास हो ।
इजरायलमा १२–१५ वर्ष बसेर नेपाल फर्किएका अधिकांश श्रमिकहरू अहिले पनि अवसर मिल्ने हो भने पुन: इजरायलमै फर्कन चाहन्छन् । त्यहाँको आकर्षक तलब, सुनिश्चित आय र श्रमिक मैत्री वातावरणको तुलनामा नेपालमा सुरक्षित तथा टिकाउ भविष्यको ग्यारेन्टी नहुनु यसको मूल कारण हो ।
नेपाल फर्किएपछि धेरैले इजरायलबाट ल्याएको बचत पनि बालबच्चाको पढाइ र घरधन्दामा खर्च भइसक्ने बताउँछन् । कतिपयले थोरै बचेको रकम लगानी गर्ने प्रयास गरेपनि सुरक्षित लगानीको वातावरण नहुँदा पूँजी गुमाउने जोखिम बेहोर्नुपरेको अनुभव सुनाउँछन् ।
‘परिश्रम गरेर कमाएको सम्पत्ति लगानी गर्दा डुब्ने डरले केही गर्न सकिएको छैन’, भन्छन् एक पूर्व श्रमिक । इजरायलमा रहेका नेपाली कामदारहरूबीच दुई देशबीचको युद्धको त्रास त अवश्य छ, तर त्यो भन्दा ठूलो त्रास नेपाल फर्किएर बेरोजगार बस्नु पर्ने डर हो ।
‘बाँचियो भने पैसा कमाएर फर्किन्छौं, मरे पनि सरकारले क्षतिपूर्ति दिन्छ, परिवारलाई केही हुन्छ,’ भन्ने सोचले पनि उनीहरू युद्धग्रस्त क्षेत्रमै काम गरिरहन तयार छन् । सिर्फ इजरायल मात्र होइन, अफगानिस्तान, इराकजस्ता हिंसाग्रस्त मुलुकमा पनि नेपाली श्रमिकहरू पुगेकै छन् ।
अहिले पनि युक्रेन–रुस युद्धको बीचमा नेपालीहरू गैरकानुनी बाटो भएर दुबै पक्षका लागि लड्न गएका रिपोर्टहरू सार्वजनिक भइरहेका छन् । यो अवस्थाले नेपाली श्रमिकहरूको रोजगारी र भविष्य प्रति राज्यको उदासीनता प्रस्ट पारेको छ ।
देशको शासन सत्तामा बसेका नेताहरूको लापरवाही र नियोजनविहीन नीतिका कारण नेपाली युवाहरू लडाइँमै ज्यानको जोखिम मोलेर बाँच्ने संघर्षमा छन् । ‘हामीले चुनेको भनिएको व्यवस्था यति लाचार बन्यो कि मर्नुका साटो बौलाउनु राम्रो लाग्न थालिसक्यो’, भन्छन्- ‘इजरायलमै कार्यरत एक नेपाली कामदार ।’
सरकारले बाहिरी जोखिममा काम गरिरहेका नेपालीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुका साथै स्वदेशमा रोजगारी, लगानीको सुरक्षित वातावरण र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सके मात्र यस्तो दुःखद प्रवृत्ति रोक्न सकिने विश्लेषकहरूको भनाइ छ ।




