काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि सोमबार बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ ‘मनसुन विशेष मौसम बुलेटिन’ जारी गर्दै बङ्गालको खाडी र अरब सागरबाट आएका जलवाष्पयुक्त हावासँगै न्यूनचापीय प्रणाली सक्रिय भएको जानकारी दिएको हो । यही प्रणालीका कारण आगामी केही दिन ती क्षेत्रहरूमा वर्षा तीव्र हुने देखिएको विभागले जनाएको छ ।
बुलेटिनमा भनिएको छ, “२०७८ असार १४ गते शनिबार साँझदेखि १६ गते सोमबार बिहानसम्म विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानहरूमा पनि यस्तै खालको वर्षा हुन सक्छ ।”
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा औसत स्थानमा र पश्चिमतर्फ औसत स्थानभन्दा केही दक्षिणमा रहेको छ । शनिबार साँझपछि यो रेखा पश्चिम नेपालतर्फ सर्ने सम्भावना रहेकाले सो क्षेत्रहरूमा मनसुन अझ सक्रिय हुने देखिएको हो ।
विभागले सम्भावित अविरल वर्षाका कारण भू–क्षय, बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै जोखिमयुक्त स्थानका बासिन्दालाई पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गरेको छ ।
साथै ठूला–साना नदी–नालामा पानीको बहाव उच्च हुने, शहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना रहने, साथै कृषि, स्वास्थ्य, पर्यटन, यातायात र निर्माण कार्य समेत प्रभावित हुन सक्ने उल्लेख गरिएको छ ।
महाशाखाले उक्त मौसमी प्रणालीको निरन्तर अनुगमन भइरहेको जानकारी दिँदै आवश्यक सूचना समयमै सार्वजनिक गरिने बताएको छ । विभागले नागरिक र सरोकारवाला निकायलाई तीनदिने मौसम बुलेटिन नियमित रूपमा हेर्न र अद्यावधिक जानकारीमा ध्यान दिन आग्रह गरेको छ ।




