काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाउँदै अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका ७ बस्ने तथा तनहुँ, व्यास नगरपालिका १२ स्थायी घर भएका ३० वर्षीय रन्जन पाण्डे रहेका छन् ।
उनीमाथि अमेरिका पठाइदिने बहानामा एक व्यक्तिसँग ७५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले पाण्डेलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका ४ बाट आइतबार उनलाई पक्राउ गरेको हो । पक्राउ परेका पाण्डेलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




