काठमाडौं । आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार आजदेखि चतुर्मासको आरम्भ हुँदैछ ।
आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर घरमा तुलसीको बिरुवा रोपिन्छ । यसअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसी मोठमा राखिएको बिरुवा आज सारेर पुन: सिँचाइ तथा पूजा आरम्भ गरिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रिय वनस्पति मानिन्छ । तुलसीको पात र फूल दुबै आयुर्वेदिक दृष्टिले अत्यन्तै उपयोगी र औषधीय गुणयुक्त मानिन्छ ।
चतुर्मास अर्थात् भगवान् विष्णुको शयनकाल आजदेखि सुरु भई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म रहनेछ । यस अवधिमा तुलसीको मोठमा विशेष पूजा, भजन, कीर्तन र नियमपूर्वक व्रत बस्ने प्रचलन रहिआएको छ ।
एक वर्षमा जम्मा २४ वटा एकादशी पर्छन् । यद्यपि, सबै एकादशीमा व्रत गर्न नसक्नेहरूले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्ने परम्परा पालना गर्छन् । कामकाजमा व्यस्त हुने वा नियमित व्रत गर्न नसक्नेहरूका लागि विशेष गरी हरिशयनी एकादशी र हरिबोधिनी एकादशी मुख्य व्रतका रूपमा मनाइन्छ ।
आजको अवसरमा राजधानीको बूढानीलकण्ठ, चार नारायण (बिशंखुनारायण, चारनारायण, इचंगुनारायण, साना नारायण) लगायत देशभरका नारायण तथा विष्णु मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । व्रतालुहरू नित्यकर्म सकेर तुलसी पूजा, विष्णु आराधना तथा फलाहारसहितको व्रत बसेका छन् ।




