काठमाडौं । राजधानीको ठमेलमा भारतीय पर्यटकमाथि लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई शुक्रबार दिउँसो काठमाडौं नयाँ बजारबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका १६ स्रोहखुट्टे नयाँ बजारमा बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा नगरपालिका १० सिर्जना टोल बस्ने २८ वर्षीय निल कुमार तामाङ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका १६ ठमेलमा घुमिरहेका भारतीय पर्यटकहरूलाई होटल खोज्न सहयोग गर्छौं भनेर झुक्याई, गोंगबु बसपार्क नजिक ध्रुव तारा कम्प्लेक्सको छैठौं तल्लामा लगेर कुटपिट तथा लुटपाट गरेका थिए ।
घटनापछि फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो । हाल उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




