काठमाडौं । लोकसेवा आयोगले आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न सेवा र तहका पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, संघीय संसद सेवा, राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय, अन्य संघीय सेवा र संगठित संस्थामा रिक्त पदहरू पूर्तिका लागि लक्षित गर्दै यो कार्यतालिका सार्वजनिक गरेको हो ।
सचिव र सहसचिव तह
सचिव तहमा आवश्यकतानुसार पदपूर्ति गरिने जनाइएको छ । सहसचिव तहको विज्ञापन असोज महिनाको अन्तिम साता प्रकाशित हुनेछ भने मंसिरमा आवेदन प्रक्रिया सुरु गरी पुस–माघमा लिखित परीक्षा र अन्तर्वार्ता तथा सिफारिस फागुन–चैत्रमा सम्पन्न हुने कार्यतालिकामा उल्लेख छ ।
उपसचिव तह
उपसचिव तहको खुला तथा आन्तरिक परीक्षा र बढुवासम्बन्धी प्रतिशत निर्धारण भदौ–असोजमा गरिनेछ । विज्ञापन असोजको अन्तिम बुधबार प्रकाशन हुने जनाइएको छ । लिखित परीक्षा फागुन–चैत्रमा, अन्तर्वार्ता तथा सिफारिस चैत्र–वैशाखमा हुने कार्यतालिकामा उल्लेख गरिएको छ ।
नेपाल स्वास्थ्य सेवा
११ औं तह: प्रतिशत निर्धारण भदौ–असोजमा, विज्ञापन असोजको अन्तिममा, परीक्षा पुस–माघमा र सिफारिस चैत्र–वैशाखमा ।
८ औं तह: प्रतिशत निर्धारण असोज–कात्तिकमा, विज्ञापन कात्तिक अन्तिम बुधबार, अन्तर्वार्ता तथा सिफारिस जेठ–असारमा ।
७ औं तह: विज्ञापन कात्तिक अन्तिम बुधबार, अन्तर्वार्ता तथा सिफारिस जेठ–असारमा ।
५ औं तह: विज्ञापन माघ अन्तिम बुधबार, परीक्षा वैशाख, लिखित जेठ, अन्तर्वार्ता वा सिफारिस साउन–भदौमा ।
४ औं तह: विज्ञापन फागुन तथा चैत्र अन्तिम बुधबार, परीक्षा जेठमा, लिखित असारमा र अन्तर्वार्ता तथा सिफारिस साउनमा ।
शाखा अधिकृत (प्राविधिक तथा अप्राविधिक)
प्राविधिक शाखा अधिकृत: प्रतिशत निर्धारण असोज–कात्तिकमा, विज्ञापन कात्तिक अन्तिम बुधबार, अन्तर्वार्ता तथा सिफारिस जेठ–असारमा ।
अप्राविधिक शाखा अधिकृत: विज्ञापन मंसिर अन्तिम बुधबार, अन्तर्वार्ता तथा सिफारिस साउन–भदौमा ।
नायब सुब्बा (नासु) तह
अप्राविधिक सेवा: विज्ञापन पुस अन्तिम बुधबार, परीक्षा वैशाखमा, लिखित परीक्षा जेठमा, अन्तर्वार्ता तथा सिफारिस साउन–भदौमा ।
प्राविधिक सेवा: विज्ञापन माघ अन्तिम बुधबार, त्यसपछिको कार्यतालिका समान ।
खरिदार तह
प्राविधिक तथा अप्राविधिक: विज्ञापन फागुन र चैत्र अन्तिम बुधबार, परीक्षा जेठ, लिखित असार, अन्तर्वार्ता तथा सिफारिस साउनमा ।
सङ्गठित संस्थाका पदहरू
सङ्गठित संस्थामा पदपूर्तिको सूचना साउनदेखि प्रकाशन सुरु हुनेछ । ती पदहरूको लिखित परीक्षा असोज–कात्तिकमा र नतिजा मंसिर–पुसमा प्रकाशित हुने उल्लेख छ ।
तालिका परिवर्तनको सम्भावना
आयोगले प्रकाशित कार्यतालिका अदालतका आदेश वा अन्य बाध्यात्मक परिस्थितिका कारण फेरबदल हुन सक्ने स्पष्ट संकेत दिएको छ ।




