काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसहितका व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगका अनुसार एकडारा गाउँपालिका १ मा सञ्चालित स-साना सडक ढलान कार्यहरू सम्झौता अनुसार नपुगेको, काम नगरी झुटो नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार पारिएको र त्यसकै आधारमा भुक्तानीसमेत गरिएको पाइएको छ । यसरी सरकारी स्रोतको दुरुपयोग गरी रु ८ लाख ६५ हजार १ सय ४५ बराबरको बिगो पुर्याइएको अख्तियारको दाबी छ ।
उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (ख), (ग) र (ङ) अन्तर्गतको कसुर मानी आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो । साथै, गलत प्रतिवेदन तयार पारेको भन्दै सोही ऐनको दफा १९(२) बमोजिम कैद र जरिवानाको मागसहित मुद्दा दायर गरिएको थियो ।
विशेष अदालतले २०८१ साल असार २ गते सरोज कुमार सिंहसहितका केही प्रतिवादीलाई आंशिक सफाइ दिएको थियो । सो फैसलासँग असहमति जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ साउन ७ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।




