काठमाडौं । भारतमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवालाई जबरजस्ती अनलाइन ठगी (स्क्याम) गराउन बाध्य पार्ने गिरोहमा संलग्न दुई जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा २४ वर्षीय राजकुमार अछामी र ४५ वर्षीय रेशमबहादुर खत्री रहेका छन् ।
अछामी सिन्धुलीको सुनकोशी गाउँपालिका ६ स्थायी घर भई हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएका हुन् भने खत्री सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ स्थायी घर भई हाल पर्साको वीरगञ्जमा बसोबास गर्दै आएका थिए । उनीहरूलाई २०७९ साउन ५ गते काठमाडौंको बल्खु र वीरगञ्ज बसपार्कबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
यसरी भयो घटना
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीका अनुसार अछामीले एक नेपाली पुरुषलाई भारतमा ड्राइभरको काम दिलाइदिने भन्दै मासिक ३५ हजार भारतीय रुपैयाँ तलब र ओभरटाइमको प्रलोभन देखाएका थिए । अछामीको विश्वासमा परी पीडितले १९ वैशाखमा काठमाडौं बल्खुबाट वीरगञ्जसम्म यात्रा गरेका थिए ।
वीरगञ्जमा खत्रीले पीडितलाई रिसिभ गरेर भारतको रक्सौल हुँदै पटना लगेका थिए । त्यसपछि पटना नजिकैको पुनपुन अजय रेलवे स्टेशन नजिक रहेको ‘वेल स्टार डायनामिक कम्पनी’ नामक स्थानमा पीडितलाई करिब सात दिनसम्म तालिमको नाममा बन्धक बनाइ शारीरिक तथा मानसिक यातना दिइएको अनुसन्धानमा खुलेको छ ।
फेसबुकमार्फत अनलाइन स्क्याम गराउने
ब्युरोका अनुसार ती युवालाई आफ्नो फेसबुक खाता प्रयोग गरी अन्य नेपालीहरूलाई ‘इनभाइट’ गर्न बाध्य पारिएको थियो । परिवारसँग सम्पर्क गर्न नदिई फेसबुकमा नक्कली आइडी बनाइ पीडितलाई अनलाइन स्क्याम गतिविधिमा संलग्न गराइएको थियो ।
पीडितसँग २ लाख रुपैयाँ बराबरको रकम लिई कपडा किनाउने बहानामा खर्च गराइएको र जबरजस्ती कागजी सम्झौतामा दस्तखत गराएर करिब दुई महिना बन्धक बनाई शोषण गरिएको ब्युरोले जनाएको छ ।
नेपाल फर्किएपछि उजुरी
पीडित युवक साउन १ गते नेपाल फर्किएका थिए । फर्किएपछि उनले मानव बेचबिखन ब्युरोमा औपचारिक उजुरी दर्ता गरेपछि अनुसन्धान प्रारम्भ गरिएको हो । पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले दिए ।




