काठमाडौं । गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति सिन्धुलीको कमलामाई नगरपालिका १३ घर भई काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वर बस्ने ४६ वर्षीय गंगा हरि न्यौपाने रहेका छन् ।
प्रहरीका अनुसार न्यौपानेले आफू गृह मन्त्रालयको कर्मचारी हुँ भनी झुटो परिचय दिँदै करारमा जागिर लगाइदिने लोभ देखाएर नागरिकताको फोटो कपीसहित विभिन्न कागजात संकलन गरी फर्जी फारम भराई रकम असुली ठगी गर्दै आएका थिए ।
उक्त आरोपमा परेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा उनलाई सिन्धुलीको भिमान चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका न्यौपानेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




