काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न मुलुक पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये टोखा नगरपालिका ९ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका ४ का ३५ वर्षीय साजन गुरूङ, ललितपुर महालक्ष्मी नगरपालिका ८ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका १ का ३६ वर्षीय दिपक थापा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ५ बस्ने दाङ घोराही उपमहानगरपालिका १५ का ४७ वर्षीय टेक बहादुर केसी रहेका छन् ।
यस्तै ललितपुर महानगरपालिका २३ बस्ने स्याङ्जा वालिङ नगरपालिका ७ का ५० वर्षीय भरत प्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी नगरपालिका ३ बस्ने पर्वत विहादी गाउँपालिका ४ का ३८ वर्षीय प्रेम प्रसाद भुषाल रहेका छन् ।
जर्मनी पठाइदिन्छु भन्दै साजनले एक पीडितबाट १२ लाख ८० हजार रुपैयाँ, जर्जिया पठाइदिन्छु भन्दै दिपकले ३ जना पीडितबाट ६ लाख रुपैयाँ, ग्रीस पठाइदिन्छु भन्दै टेक बहादुरले ६ जना पीडितबाट २१ लाख रुपैयाँ, कोरिया पठाइदिन्छु भन्दै भरतले ३ जना पीडितबाट २० लाख रुपैयाँ र प्रेमले ३ जना पीडितबाट ३३ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले साजन र टेक बहादुरलाई काठमाडौं महानगरपालिका २६ बाट, दिपकलाई काठमाडौं महानगरपालिका ३० बाट बुधबार तथा भरत र प्रेमलाई ललितपुर महानगरपालिका १५ बाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहमाथि कडा निगरानी बढाइएको जनाएको छ ।




