काठमाडौं । वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले दिएको जानकारी अनुसार उनीहरूलाई फरक फरक स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा नुवाकोट म्यागङ गाउँपालिका २ घर भई हाल टोखा नगरपालिका ८ बस्ने ४२ वर्षीय हेम बहादुर तामाङ, स्याङ्जा फेदीखोला गाउँपालिका २ घर भई हाल टोखा नगरपालिका १० बस्ने ३५ वर्षीया ईश्वरी थापा र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ७ घर भई हाल चन्द्रागिरी नगरपालिका ५ बस्ने ६१ वर्षीया मैया देवी उप्रेती रहेका छन् ।
प्रहरीका अनुसार हेम बहादुर तामाङले सिङ्गापुर पठाइदिने भन्दै दुई जना पीडितबाट २ लाख ७० हजार रुपैयाँ असुलेका थिए । यस्तै, ईश्वरी थापाले माल्टा पठाइदिने प्रलोभनमा एक जना पीडितसँग ६ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् भने मैया देवी उप्रेतिले अमेरिका पठाइदिने बहानामा एक जना पीडितबाट ८ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएकी थिइन् ।
पीडितहरूको उजुरीको आधारमा प्रहरीले हेम बहादुरलाई शुक्रबार टोखा नगरपालिका ८ बाट, ईश्वरी थापालाई शनिबार टोखा नगरपालिका १० बाट, र मैया देवी उप्रेतिलाई आइतबार चन्द्रागिरी नगरपालिका ५ बाट पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये ईश्वरी थापालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने हेम बहादुर तामाङ र मैया देवी उप्रेतिलाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।




