काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कन्सल्टेन्सी व्यवसायमा कडाइ गर्दै पछिल्लो समय अनुगमनलाई तीव्र बनाएको छ । सोही क्रममा बिहीबार विभागले काठमाडौं उपत्यकाका २५ वटा एजुकेशन कन्सल्टेन्सीहरूमा अनुगमन गरेको जनाएको छ ।
विभागका अनुसार तीमध्ये ८ वटा कन्सल्टेन्सीहरूलाई कूल ६ लाख रुपैयाँभन्दा बढी जरिवाना गरिएको छ । त्यस्तै, थप ८ कन्सल्टेन्सीलाई व्यवसाय सम्बन्धी कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै बाँकी ९ कन्सल्टेन्सीलाई सामान्य निर्देशन दिइएको वाणिज्य विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए ।
दाहालका अनुसार काठमाडौं महानगरपालिका २८ स्थित रिड एजुकेशन हब, परसुट अब्रोट स्टडिज, स्योउराइ इन्टरनेशनल एजुकेशन र प्यासन फाउण्डेशन कन्सल्टेन्सीहरूलाई जनही एक लाख रुपैयाँ र प्यासन फाउण्डेशनलाई थप ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै, काइट कन्सल्टेन्सी काठमाडौं २८ लाई ५१ हजार रुपैयाँ, छाङमी एजुकेशन काठमाडौं १६ लाई ५० हजार रुपैयाँ र आशिर्वाद ल्याङ्ग्वेज स्कुल भक्तपुर नगरपालिका ३ लाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
विभागका अनुसार कारबाहीमा परेका कन्सल्टेन्सीहरूले अत्यधिक शुल्क असुलेको, व्यवसाय सञ्चालनका लागि आवश्यक कानुनी दर्ता नगरी सेवा प्रवाह गरिरहेको तथा सेवाग्राही उपभोक्तालाई ठग्ने खालका गतिविधि सञ्चालन गरिरहेको पाइएको हो ।

विभागले कन्सल्टेन्सी क्षेत्रमा यस्ता अनियमितता न्यूनीकरण गर्न निरन्तर अनुगमन अभियान जारी राख्ने चेतावनी दिएको छ ।




