काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ । बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राती भने देशको पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ ।
मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउनु हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।




