काभ्रे । विश्वकै एक मात्र कालाग्निरुद्रपीठ लड्केश्वर धाममा विश्वकै अग्लो शिव त्रिशूल निर्माण सम्पन्न भएको छ । ७७ जिल्लामा सम्पन्न रथयात्रा र राष्ट्रिय कोटिहोमपछि पुनः एक ऐतिहासिक क्षणका रूपमा ‘कालाग्नि रुद्रपीठ लड्केश्वर धामको निशानी’ अनावरण गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र श्री १००८ स्वामी रमणानन्द जी महाराजले संयुक्त रूपमा उक्त निशानी सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा विद्वान प्रा. डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पंथी, पनौती नगरपालिका मेयर रामशरण भण्डारी, वेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, अन्य स्थानीय जनप्रतिनिधि, दानदाता तथा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
आशिर्वचन दिँदै स्वामी रमणानन्द महाराजले कालाग्नि रुद्रपीठको स्थापना र भगवान पशुपतिनाथको पाशुपतास्त्र (त्रिशूल) निर्माणलाई देशका संकट निवारणको प्रतीक बताए । उनले अतीतका गल्तीहरू भुली, राष्ट्रको समृद्धिका लागि भगवान शिवसँग क्षमा माग्न सबैलाई आग्रह गरेका थिए ।
मन्त्री पाण्डेले लड्केश्वर धामलाई राष्ट्रिय धार्मिक–पर्यटकीय गन्तव्यको सूचीमा राख्ने घोषणा गर्दै पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनका लागि यहाँको शिव पाशुपतास्त्र दर्शन गर्न सहज वातावरण बनाइने प्रतिवद्धता व्यक्त गरे । साथै, त्रिशूल निर्माणमा योगदान पुर्याएका पीठाधीश मुकुन्द शर्मा हुमागाईंलाई धन्यवाद ज्ञापन गरेका थिए ।
पीठाधीश हुमागाईंका अनुसार, ‘राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवम् संकल्प यात्रा’ अन्तर्गत धामको ६.५ किलो चाँदीबाट निर्मित निशानीलाई ७७ जिल्लामा शास्त्रीय मर्यादाअनुसार रथमार्फत लैजाने तयारी भइसकेको छ । यात्राको सुरक्षाका लागि गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको र विशेष रथको तयारी पूरा भएको जानकारी दिए ।




