सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ८ अन्तर्गत रिंग रोड हुलाकी सडकमा अवस्थित पद्मरत्न विद्या मन्दिर स्कुलदेखि पूर्वतर्फको बस्ती औपचारिक रूपमा ‘बज्जिका नगर’ नामाकरण गरिएको छ ।
शुक्रबार आयोजित विशेष समारोहमा बज्जिका साहित्य समाज सर्लाहीका सचिव मुकेश कुमार मिश्रको अध्यक्षता र वडा अध्यक्ष मुकेश जयसवालको प्रमुख आतिथ्यतामा टोलको विधिवत नामांकन तथा उद्घाटन सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथि रूपमा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा, भारत बिहार सितामढीका कवि कमरुदिन नदाफ, इन्द्रा कुशवाहा, कवियत्री ललिता देवी कुशवाहाको उपस्थिती रहेको थियो ।
यस्तै इन्जिनियर शिवशंकर साह रौनियार, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम यादव लगायत साहित्यकार, पत्रकार तथा स्थानीय बासिन्दाको उपस्थिती रहेको थियो ।
सोही अवसरमा मलंगवाबाट पत्रकार मनोज यादवको प्रकाशन तथा विजय कुमार यादवको सम्पादनमा प्रकाशित मधेश दूत राष्ट्रिय दैनिक पत्रिकाको विमोचन पनि गरिएको छ । उपस्थित अतिथिहरूले पत्रिकाले बज्जिका भाषाका साहित्यकार र साहित्यिक गतिविधिका लागि छुट्याएको पृष्ठको प्रशंसा गर्दै प्रकाशक यादवलाई धन्यवाद ज्ञापन गरे ।
वडा अध्यक्ष मुकेश जयसवालले बज्जिका नगरको नामांकन प्रति खुशी व्यक्त गर्दै टोलको पहिचान र भाषिक–सांस्कृतिक संरक्षणका लागि गरिएको पहल सराहनीय रहेको बताए । उनले नगरको समग्र विकासका लागि वडा र व्यक्तिगत स्तरबाट सम्भव सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।




