काठमाडौं । आज भाद्र शुक्ल तृतीया, हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । हिन्दु महिलाहरूले देवाधिदेव महादेवको पूजाआराधना गर्दै अटल सौभाग्य, पारिवारिक सुख–समृद्धि र जीवनमा शान्तिको कामना गर्दै व्रत बसेका छन् ।
यस अवसरमा राजधानीस्थित पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । तीजको विशेष दिनलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका सर्वसाधारणका लागि खुला गरेको छ ।
यस कारण दर्शनार्थीहरू बिहानैदेखि लामबद्ध भएका छन् । धार्मिक विश्वासअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिकाको व्रत लिनाले जीवनमा सुख, शान्ति र कल्याण प्राप्त हुने मानिन्छ ।
विवाहित महिलाले पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै यो व्रत बस्छन् भने अविवाहित युवतीहरूले सुयोग्य जीवनसाथी प्राप्तिको प्रार्थना गर्दछन् । यद्यपि, शास्त्रीय मान्यताअनुसार यो व्रत पुरुषका लागि पनि उत्तिकै फलदायी मानिन्छ ।
यो पर्वको उत्पत्ति सत्ययुगमा हिमालयकन्या पार्वतीले महादेवलाई पति पाउन गरेको कठोर तपस्यासँग जोडिएको छ । पिता हिमालयले भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले अस्वीकार गरिन् । उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने गरी लुकाए र त्यही गुप्त स्थानमा उनले निराहार व्रत बसेर महादेवको आराधना गरिन् ।
अन्तत: पार्वतीले भगवान् महादेवलाई पति प्राप्त गरिन् । साथीहरूले ‘हरण’ (लुकाउने) गरेको र ‘आलिका’ (साथी) शब्द मिलेर ‘हरितालिका’ नाम बनेको धार्मिक विश्वास छ । हरितालिकाको व्रतलाई कठिन व्रतमध्ये एक मानिन्छ । तर शास्त्रमा स्वास्थ्यलाई ध्यानमा राख्न सुझाइएको छ ।
‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् जसरी भएपनि आफ्नो शरीरको रक्षा गर्नुपर्छ भन्ने सिद्धान्तअनुसार व्रतालुले आफ्नो स्वास्थ्य अवस्था अनुसार निराहार (अन्न–जल केही नखाई), जलाहार (जल मात्र सेवन गरी) वा फलाहार (फलफूल सेवन गरी) व्रत बस्न सक्छन् ।
स्वास्थ्यका कारण निराहार बस्न नसक्नेहरूले जल, दूध, फलफूल, सखरखण्ड, पिँडालुजस्ता कन्दमूल वा गुरुजनको आज्ञाअनुसारका अन्य वस्तु सेवन गर्न सक्ने व्यवस्था छ । स्कन्दपुराणमा औषधि सेवन गर्दा व्रत भंग नहुने उल्लेख छ, जसले गर्दा नियमित औषधि सेवन गर्ने भक्तजनलाई पनि सहज हुने विश्वास गरिएको छ ।
धार्मिक मान्यताअनुसार, आजको दिन विधिपूर्वक हरितालिका व्रत बसेर शिव–पार्वतीको पूजा–आराधना गरे मनोकामना पूरा हुने आस्था राखिन्छ ।




