बारा । बारा र सर्लाही जिल्लामा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर तीन जनाको ज्यान गएको छ । बारा जिल्लाको पचरौटा नगरपालिका ८ अमरपट्टी बस्ने ४० वर्षीय माहानन्द यादवको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
तियर खोलामा विद्युतीय मोटर जडान गरी खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बारा कै सिम्रौनगढ नगरपालिका ९ कचोर्वा बस्ने ५० वर्षीया अनिता देवी यादवको पनि आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । सोही नगरपालिका ५ कोनिहाटी चौरस्थित खेतमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यसैबीच सर्लाहीको बागमती नगरपालिका १ मिलनचोक गुम्बा टोल बस्ने ६८ वर्षीय छल बहादुर रानाको आइतबार बेलुकी करेन्ट लागेर मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




