काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ठगी गरेको आरोपमा उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २६ बस्ने पर्सा विन्दावासिनी गाउँपालिका ५ घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौं कीर्तिपुर नगरपालिका ५ बस्ने ५३ वर्षीय सहनसिल महर्जन, ललितपुर बस्ने रौतहट परोहा नगरपालिका १ घर भएका २० वर्षीय बिक्रम साह र बाँके कोहलपुर नगरपालिका १२ घर भएका २७ वर्षीया हरिकला खाँण ठकुरी ९थापा० रहेका छन् ।
पक्राउ मध्ये तुफायलले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, सहनसिलले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २५ हजार रूपैयाँ, बिक्रमले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र हरिकलाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तुफायललाई काठमाडौं महानगरपालिका २६ बाट बुधबार तथा सहनसिललाई काठमाडौं कीर्तिपुर नगरपालिका ५ बाट, बिक्रमलाई काठमाडौं महानगरपालिका ३२ बाट र हरिकलालाई काठमाडौं महानगरपालिका १२ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




