काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १४ बस्ने प्युठान नौबहिनी गाउँपालिका १ घर भएका ३४ वर्षीय विशाल बुढा मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ बस्ने झापा बुद्धशान्ति गाउँपालिका २ घर भएका ३० वर्षीय निकेश ढुङ्गाना र ललितपुर महालक्ष्मी नगरपालिका ३ बस्ने महोत्तरी गौशाला नगरपालिका ९ घर भएका ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेका छन् ।
पक्राउ मध्ये विशालले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ३० हजार रूपैयाँ, निकेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख रूपैयाँ र योगेन्द्रले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ३४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विशाललाई काठमाडौं चन्द्रागिरी नगरपालिका १४ बाट बिहिबार तथा निकेशलाई ललितपुर, ललितपुर महानगरपालिका १५ बाट र योगेन्द्रलाई काठमाडौं महानगरपालिका १२ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




